Lakshmi Mali – Meri Chhori

सिमलका भुवाहरुजस्ती
मेरी छोरी सुकोमल भइन
मेरी छोरी सहनशील भइन
पुराना इच्छाहरु विपरीत
मेरी छोरी
आगोलाई निषेध गर्ने
पानी र हिउँका ढिक्काहरु भइन
म उसकी त्यस्ती आमा हुँ
जसले गृष्मकालीन घाममा आगो निलेकी छ
यतिखेर सोध्दैछु म आफैलाई
मेरै दशधारा दूध पिएकी मेरी छोरी
आवाज र आगोका यामहरुका विपक्षमा
कसरी मौन र हिउँका ढिक्काहरु हुन्छे ?
मुटुभरि सियो
र पैतालाभरि काँडाहरु बोकेर
आधा रातमा पीडाले बर्बराउँथें म आमा
सास फेर्नका निम्ति हावामा
मेरो निम्ति धुलो र धुवाँहरुमात्र थिए
ठीक त्यही याममा
मेरो गर्भभित्र दश महिना बसेकी मेरी छोरी
गर्भबाहिरको यो संसारमा
धुवाँ र काँडाहरुविरुद्ध विद्रोह गर्दैछे
मेरा उहिलेका इच्छाहरु विपरीत
मेरी छोरी फूलको थुङ्गोजस्तो भइन ।
मेरो चेतनाको क्षितिजलाई हल्लाउँदैछन्
उसका आवाजहरु
ऊ मलाई भन्दैछे
म तपाईका प्राचीन इच्छाहरुमा आगो सल्काउँछु
र हाम्रा इच्छाहरुका निम्ति लड्न तयार छु
ऊ यत्तिको कठोर हुन्छे भनेर
अहँ ! मैले सोचेकै थिइनँ
मैले निलेको आगोको ज्वाला भएर जन्मी ऊ
मैले पिएको धुवाँको बारुद भएर हुर्की ऊ
मैले खपेको अपमानको प्रतिफल भएर बढी ऊ
उसको नशा नशामा रगत होइन
आगोका नदीहरु बगेका छन्
उसका आँखाहरुमा प्रतिशोध
घृणा भएर बसेको छ ।
पिठ्यूँमा भारी र
गर्भमा छोरी बोकेर
सहस्र साहूका बातहरु खाएकी
श्रमशील आमाकी छोरी
सहनशील हुनै नसक्ने रहिछ
सुकोमल हुनै नसक्ने रहिछ
एउटा जीवन्त शिक्षा भएर
प्रस्तुत भएकी छे मेरो अघिल्तिर
भविष्यकी प्रतिमूर्ति
मेरी छोरी ।