Lakshmi Mali – Sarangkot

सारङ्गकोट
पोखरा बिउँझिन्छ
तिम्रै मधुरो मुस्कानको आभाषसँगै
तिमी कुहिरोसँग लुकामारी खेल्दै
न्यानो आतिथ्यमा ढोका उघार्दै
पोखराका पाहुनाहरुलाई
माछापुच्छ«े र धवलागिरीहरुको संघार बनी
सूर्योदयको प्रतीक्षामा
सधैं–सधंै मायाप्रितिका लहरहरु बोकेर
तरेलीहरुमा
मुसुक्क मुस्काएर
पाहुनाहरुको विश्वास सँगालेर
पर्खिरहेकी छौ
प्रकृतिका सौन्दर्य सिर्काहरुले
हार्दिकता पस्किरहेकी छौ ।
सारङ्गकोट
शरद ऋतुमा पनि
चिसा–चिसा सिरेटोहरुले
पाहुनाहरुलाई ढपक्क ढाकेर
एउटा जीवनलाई ताजापनमा घोलेर
सुन्दर भावना छर्किरहेजस्तो
न्यानो सत्कारमा तल्लीन छौ
सूर्योदयको शाश्वत सत्यको नमूना बनी
उभिरहेकी छौ ।
सारङ्गकोट
तिमी पोखरामा हराएर
फेवा र माछापुच्छ«ेसँग माया साटेर
हाँसिरहेकी छौ
तिम्रो माया र सद्भावलाई
न्यानो आतिथ्यको स्पर्शलाई
सम्झिँदै, तरङ्गित हुँदै
तिम्रो सुन्दर सेरोफेरोलाई बिर्सन नसकेर
तिमीसँग फेरि भेट्ने धोको छ ।
सूर्योदयको किरणसँगसँगै,
एउटा ताजापनको आभाष भएको क्षण
हिमालहरुले रुप फेरेको दृश्य
स्वप्निल तरङ्गहरुझैं
कताकता रङ्गहरु भरेको क्षण
ए सारङ्गकोट !
कसरी बिर्सन सकिन्छ तिमीलाई ?