टंक सुब्बा – महाशय !
महाशय !
किन अपमान गर्दै हुनुहुन्छ कवि र कविताको ?
के एउटा कविता च्यातेर,
कविको विचारलाई च्यातिदिएँ भन्ने ठान्नुहुन्छ ?
देश र जनता हुन्
कवि र कविता ।
के सारा जनतालाई दमन गरेर
सत्ता टिकाउन सक्नुहुन्छ एक्लै ?
के देश र जनताको साथ चाहिन्न र महाशयलाई ?
महाशय !
कवि, कवितामा बाँचेको हुन्छ ।
कवि, कविताको सुन्दर छटामा हाँसेको हुन्छ ।
के कविको सुन्दर कवितालाई च्यातेर न्याय गरेझैं लाग्छ ?
कविको एउटा कविता च्यातेर,
महान नठान्नु होला महाशय !
किनकि कविसँग अनेकौ शक्तिशाली र खतर्नाक कविताहरु हुन्छन्,
एउटा सुन्दर र निर्दोष कवितालाई च्यात्न सक्नुहोला
तर खतर्नाक कवितालाई कहिल्यै च्यात्न सक्नुहुन्न ।
किनभने त्यो कविता निडर हुन्छ, व्रिद्रोही हुन्छ,
बरु उल्टै महाशयलाई च्यातिदिन सक्छ,
आफैले कविता च्यातेझैं,
किनकि कविको खतर्नाक हतियार हो कविता ।
महाशय !
राम्ररी सोँच्नुहोला,
कविताको हत्या अपहरण किन गर्दै हुनुहुन्छ ?
महाशयलाई थाहा छ, कविता सबैलाई मनपर्छ
र कविता महाशयलाई पनि मनपर्छ,
तर किन क्रुर बन्दै हुनुहुन्छ,
कवि र कविताको लागि ?
महाशयलाई थाहै होला,
अस्तिको जनआन्दोल-२ मा
कति कविताहरु कुटिए / लुटिए / भुटिए
कति कविताहरु शहीद भए,
के त्यसको लेखाजोखा छ महाशयसँग ?
नहुन सक्छ,
किनभने आदेश मात्र पालना गर्नुहुन्छ महाशयले ।
के यो देशको सच्चा नागरिक भएर,
कहिल्यै सोँच्नुभएको छ,
कवि र कविताको सम्मान गर्नुपर्छ भनेर ?
महाशय !
थाहा पाई राख्नुहोस्
म कवि हु कविता लेख्ने,
त्यसैले देशको कविता लेख्छु,
र्सवाङ्गीण विकासको कविता लेख्छु,
जनचेतनाको कविता लेख्छु,
देशवासीको सुख-दुखको कविता लेख्छु,
यसरी लेखिएको कविताको दुश्मन कसरी बन्नुभयो ?
के व्यक्तिस्वार्थको लागि त्यसो गर्नुभएको त होइन ?
म बारम्बार देखिरहेछु,
कवि र कविताको विरुद्घमा हुनुहुन्छ,
देश र जनताको लागि लेखिएको कविता
के कहिल्यै पढ्नु भएको छ ?
यदि पढ्नु भयोभने,
त्यहाँ नेपाली सुगन्ध पाउनुहुन्छ,
त्यहाँ प्राकृतिक सुन्दरता देख्नुहुन्छ,
त्यहाँ जाति, भाषा, संस्कृति भेट्नुहुन्छ
त्यहाँ वहुल विचारको चौतारी टेक्नुहुन्छ,
त्यसैले कवि कहिल्यै देशद्रोही हुँदैन ।
महाशय !
कविले देश बेचेर खान जान्दैन,
कविले आफैलाई वन्दकी राख्न खोज्दैन,
कविले ऋणै ऋणको भारी बोकेर हिँड्न चाहँदैन,
कवि सधैँ उन्मुक्ती चाहन्छ,
कवि सधैँ स्वतन्त्रताको वकालत गर्छ,
त्यसैले महाशयको विरुद्घमा
कविता लेख्छ कवि,
त्यो महाशयलाई मन पर्दैन,
किनकि महाशयले च्यात्नु भएका सवै कविताहरु,
महाशयकै विरुद्घमा
लेखिएका कविताहरु थिए ।
महाशय !
२३८ वर्षदेखि थिचिँदै आएका कविताहरु,
आज आफ्नो हक-अधिकार खोज्दै उठेकाछन् ।
जाति, भाषा, संस्कृति खोज्दै उठेकाछन् ।
किनभने, यो देश, मात्र कथित जातिहरुको होइन,
यो देश, सम्पूर्ण कविताहरुको देश हो ।
महाशयलाई सपनाजस्तै लाग्न सक्छ,
किनकि, भर्खरै मात्र कविताहरुको जनआन्दोलन -२ ले
वन्दुक हारेको छ,
शासक हारेको छ,
राजा हारेको छ,
त्यसैले कविताहरु अहिले कविता भएकाछन् ।
थाहा पाई राख्नुहोस् महाशय !
कवि र कविता भनेका देश र जनता हुन् ।