पश्चिमतिरको आकाशमा
धुवाँको मुस्लो उठेको रात
उकुस मुकुस्सिएर
रोएका थिए आमाहरु
बारुदको गन्धले चराहरु पनि
निसास्सिएको रात
आफ्ना निर्दोष सन्तानहरु
भोक भोकै जलेको रात
कहालिँदै रोएका थिए आमाहरु
दूधे बच्चाहरु काखी च्याप्दै
थाङ्ना र कोक्रालाई
आगोबाट बचाउन खोज्दै गर्दा
आफ्नै लुगाहरु जल्दै गरेको रात
निसास्सिँदै रोएका थिए आमाहरु
ओतमात्र लाग्न सकिने छाप्राहरु
बल्लबल्ल खुट्टा तन्काउन पुग्ने गुन्द्रीहरु
जबरजस्ती लाज छोप्नसक्ने मजेत्राहरु
दनदन्ती बलेको रात
छाती पिट्दै रोएका थिए आमाहरु
बालबच्चाका लागि
लिटो, ढिंडो, जाउलो र खोले पकाउन सक्ने
सिलेबरका थोत्रा भाँडाहरु
रात–दिन ढिकी–जाँतो गरी
जोगाएका दुई पाथी मकै र चार माना पीठो
त्यही पनि जलाई दिएको रात
आँखाभरि घृणा बोकेर
मुट्ठी कसेर उठेका थिए आमाहरु
(खारा आगलागी काण्डलाई सम्झँदै)