Tanka Subba – Ma Ra Sapanaharu

टंक सुब्बा – म र सपनाहरु

मेरा कुमारी सपनाहरु
हरेक दिनको आगमनलाई पछ्याउँदै
मेरै सामु आईपुग्छन्
र न्यानो स्पर्श गर्छन्
सुकोमल ओठहरुले चुम्छन्
अनि हृदयलाई सुम्सुम्याएर
आलिङ्गनमा वाँधिन्छन्
तव म सपनाको मायाँ जालमा फसेर
एकहोरिन्छु
तर सपनाहरु अनायासै
टाढीन्छन्
विछोडिन्छन्
यसरी सपनाहरु मसँग टाढिए पनि
मेरो मनले सधै
ती सपनाहरुलाई छुन खोज्छ
तर सपनाहरु हुदैनन्
तव प्राप्तिको लागि
अनेकौ मनका प्वाँख फैलाउछु
र सोच्छु उड्दै
सपनाको देशमा पुग्न पाए हुन्थ्यो
तर मैले सोचे जस्तै
सपनाको संसार कहाँ भेटिएला र ?
मात्र सम्झन्छु
सपनाहरुका न्यानो स्पर्श
सपनाहरुका सुकोमल चुम्वनहरु
र आलिङ्गनहरु
अतितहरुले यसरी समाउँदा
सपनालाई चौतर्फी खोज्छु
समयलार्इ पछ्याउँदै दगुर्छु
तर सपनाहरु भेटिदैनन्
नपाउँनुले थाकेर हैरान हुन्छु
तर पनि सपनाहरु संग भेट्ने
रहरहरु मर्दैनन्
आकांक्षाहरु टर्दैनन्
सपनाहरु सुकोमल वनेर
नआई दिए पनि
वाँचेकैछन् यी मनहरु
आशा र भरोसाहरु
म सधै देख्छु सपनाहरुलाई
देखिरहन्छु
परीपरीका सपनाहरु
थरीथरीका सपनाहरु
रङ्गविरङ्गका सपनाहरु
तर अनुभव गर्न सक्दिन
अङ्गाल्न पाउँदिन
तव सोच्छु
कस्का लागि हुन यी सपनाहरु ?
केका लागि हुन यी सपनाहरु ?
त्यसै रुमलिन्छु
सुन्दर सुन्दर सपनाहरुको
प्रतिविम्व देखेर
उत्साहित हुन्छु
कुनै न कुनै सपना
मेरो पनि त होलान् भनेर
खोज्न थाल्छु
सपना हिड्ने गोरेटाहरु
जहाँ एउटा सपनालाई
देख्दा नदेख्दै
धेरै धेरै सपनाहरु पो देख्न पुग्छु
तव यस्तो लाग्छ
सपनाहरु केवल सपनै मात्र हुन्
जो भेट्नै नसकिने
जो अङ्गाल्ने नसकिने
तर पनि अनवरत
हिउँद वर्षा खपी दिन्छु
दुख सुख व्यहोरी दिन्छु
तै पनि सपनालाई भेट्न सकिएन
यतिका उमेर वितिसके
खोई कहाँ सपनाहरु आफ्ना वनेकाछन् र ?
तर पनि कुमारी सपनाहरु
हरेक दिनको आगमनलाई
पछ्याउदै
मेरै सामु आईपुग्छन्
र स्पर्श गर्छन्
ओठहरुले चुम्छन्
अनि हृदयलाई सुम्सुम्याएर
आलिङ्गनमा वाँधिन्छन्
तव म सपनाको मोहमा फसेर
सम्मोहित भैदिन्छु
तर सपनाहरु अनायासै
टाढीएर जान्छन्
विछोडिएर जान्छन्