टंक सुब्बा – हामी
हामी
उस्तै आकास ओढेर
एउटै ब्रह्माण्डमाथि
व्यस्तव्यस्ततामा हराएका उस्तै मान्छेहरु
प्राणको थमौतीमा
अस्तित्वलाई कुल्चदै समयको चौतारीमा
भागवण्डा गरेर सुख-दुःखलाई
कार्यक्षेत्रको लामो दौरानमार्
कर्तव्यशील बनेर
चढ्दै गरेका हुन्छौं
प्रतिवद्घतामा आस्थाका पहाडहरु
जीवनको पवित्र शिविरमा
ओतप्रोत भएर प्रेमको भावनाले
दर्दनाक क्षेत्रहरुमा छरिरहेका हुन्छौं
खुशीयालीका वर्षातहरु
दायित्वको एउटै मालामा गासिएर
भावनाको एउटै शुत्रमा बाधिएर
हुर्काइरहेका हुन्छौ साहसले देशभक्तिका विरुवाहरु
जहा महानताको शिर ठाडो उभ्याएर
जीवित रहनका लागि
जीवनलाई जहाबाट शुभारम्भ गरेपनि
वर्तमानको शीतल छहारीमा
दुःख बेचेर सुख किन्ने
उस्तै मान्छेहरु
साटिरहका हुन्छौं एकार्कामा भातृत्व
र बाछिरहेका हुन्छौं बन्धुत्वको डोरी
त्यसैले हामी उस्तै आकास ओढेर
एउटै ब्रह्माण्डमा
व्यस्त व्यस्ततमा हराएका उस्तै मान्छेहरु ।