टंक सुब्बा – देशको आत्मा कथा
संकल्पको पहाड चढ्नलाई
भीमफेदीवाट
आस्था र प्रतिष्ठाका पाइलाहरु
चाल्दै जादा क्रमशः
एकदिन शिखर भएर उभिदिए म
जहावाट दृष्टिहरु फैलाउदा
देखें देशलाई
पढें उसका मुहारहरु
मौन थियो धुम्मिएको बादल जस्तै
निहाले सर्वाङ्ग
देखें प्रत्येक गोरेटोहरुमा
लाठी र बुटहरु क्रुरताले बज्रिएका
अधिकारहरु खोसिए निर्ममताले बाच्नेका
कोही विनाकसुर
सहदै थिए कृतिम यातनाका चर्का कोर्राहरु
भोग्दै थिए राक्षसीपनका सजायहरु
दृश्यहरु फेरे अर्कोतिर
त्यहा
एउटा पाइतालाले असंख्य टाउकाहरु
कुल्चने नियत पालेर
बोल्दै थिए पाल्छी भाषामा
षड्यन्त्रका सम्वादहरु
घन्काउदै थिए खोक्रो आदर्शका नाराहरु
उतार्दै थिए देशका अस्थिपन्जरहरु
अब म नागरिक हुनुको पराकाष्ठामा बाधिएर
लेखौं कसरी आत्मा कथाहरु
धेरै पीडाले विह्वल छ देश
आफै भित्र गुम्स्याएर व्यथाहरु
वर्वराउछ आफै सत्यताका कथाहरु
त्यसैले
यस बेला म सिङ्गो देशको दर्दमा उभेको छु
तर पनि स्वीकारेको छुइन हार
बाधाहरुले परेको छुइन दोधार
बरु उत्साह बाधेर
स्वाभिमानले भिजेको देशलाई
विश्व मानचित्रको पृष्ठभूमिमा
कुदिरहेछु सुनौलो अक्षर
वीरताको छिनोले
निको पार्न खोजिरहेछु देशको घाउ
स्वतन्त्रताको मलमले
लेख्न लागिरहेछु देशको आत्माकथा
समयको कलमले