टंक सुब्बा – हर्के
विवशताको कालो बादल मडारिने
आकास ओढेर कहाली लाग्दो
निराकार झुप्रोमा व्युझिएको
हर्के
जीवन छाम्न पाएर पनि
आज व्यवधानको शिकार भैरहेछ एकलाशमा
मुखुण्डो ओढी मान्छेको
जोगाउनलाई दुइमुठ्ठी प्राण आज
डुबुल्कि मार्दै आहतको पोखरीमा
बिरानो भैरहेछ आफ्नै आगन
खोजी गर्दा बासको
सहारा नपाएर आफन्तहरुको गुल्जारमा
हिडिरहेछ मलामी भएर गल्लीगल्ली
आफ्नै जिउदो लाशको
उसले पनि देख्यो सबैले देखेको जूनघाम
सबैले रङ्गीने क्षणहरुमा ऊ पनि रङ्गीयो
व्यहोर्योग लान्छनाहरु पनि सबैले व्यहोर्ने ठाउहरुमा
तर मरुभूमिको यात्री जस्तै
छट्पटिनु पर्दा अभावहरुमा
अर्थ व्यर्थ छ
हर्के हुनुको
निरीह मन बाधेर आशाहरुले
गर्न खोज्यो सम्झौताहरु धेरै समयसंग
गर्न खोज्यो संघर्षहरु धेरै बाध्यताहरुसंग
तर जन्मन सकेनन् विकल्पहरु
दिगो हुन पाएनन् उपायहरु
खर्चिनु पर्योप उपलब्धी विहीन पलहरु
त्यसैले हुन सकेन, कुनै रङ्ग
हर्के जिउनुको
हर्के, आज परिस्थितिको ज्वलनमा
ह्वारह्वार्ती जलिरहेछ भावनाको चितामाथि
खोज्दा खोज्दै शीतल छहारी
बूढो भएर एउटा रुख बज्रिएछ आफैंमाथि
खुशी चुडाएर हास्न खोज्दा
बल्झीएका व्यथाहरुले
दुःखिदिन्छ कोमल छाती
रहर कति-कति कुल्चिएर उभ्दा पनि
पटक-पटक मर्दै जिएको छ, वर्वादीहरुमाथि
तसर्थ हर्के
जीवन छाम्न पाएर पनि आज
व्यवधानको शिकार भैरहेछ एकलाशमा
मुखुण्डो ओढी मान्छेको
जोगाउनलाई दुइमुठ्ठी प्राण आज
डुबुल्कि मार्दै आहतको पोखरीमा
बिरानो भैरहेछ आफ्नै आगन
खोजिगर्दा बासको
सञ्जीवनी नपाउदा आफन्तहरुको बजारमा
मृत्यु घोषण गरिरहेछ गल्ली-गल्ली
आफ्नै जिउदो लाशको ।