Laxmi Prasad Devkota – Kamjori

क.

कमजोरी हुन् दुःखकी बहिनी,
श्रमकी छोरी !
दिनभर, दिनभर मन्थन गर्दै मानव स्नायु
फींज सोहोरी,
विधिले रचे रे कमजोरी !
इन्द्रधनुषको रङ्ग क्यै जोरी !
साँवली छन्, छैनन् गोरी !
तैपनि छन् फेनील हुरी !

ख.

गुलाफ बागमा यस मासुको,
गोधूलिमा, मूल परीकन,
जन्मिन् मोरी !
अलसाइँले गोद लिइन् तब,
गाला जोरी !
क्षुधा र तृष्णासँग ती खेलिन्
भग्न मनोरथहरुका वनमा ।
मध्यरातमा बैंसे भइछन्
प्रथम श्रापकी उम्दा छोरी ।
कविसँग जिस्किन्, तिर्छी हानी ।
कस्ती उत्ताउली ती मोरी !

ग.

आँखा खोली अनगिन कोटी,
ढल्की बादल भुवामा लेटी,
कविता गर्न बसिथिन् रजनी
कागतजस्तो फिंजाई अवनी !
उनकी प्रतिभा मुस्किरहिथिन् !
केही टटोली
चट्ट उँगी छन् ! मुखी ढाकी छन् !
कालो मसी सब ख्वात्तै पोखी !
थाकी छन् ती नरम सिरकमा
छाती जोरी !
यस्तो गर्छिन् बराबर मोरी !
कमजोरी, ती श्रमकी छोरी !

घ.

घनश्यामा छन्, दृग लामा छन् ।
जादूकेशी !
वयसी, अयसी, नशाकी महिषी,
कालो–मुलायम–मखमल–वेशी !
मुसमुस अत्तर आउँछ तिनको
साँझमा बेसी !
‘इविनिङ पेरिस् ! ’
थकित जगत्को त्यसमा के रीस ?
तर निशिजागा कविकी मस्ती,
सीताजस्ती,
देख्छे रङ्गीबिरङ्गी तोरी !
सम्मोहनको लहरी हान्छिने जब ती मोरी !

ङ.

बसिरहेछु, कलम ली घोरी !
फुत्की, भाग्दछु, उड्दछु भन्छु ।
कल्पनाका पङ्खमा लाउँछिन्
मसिनो जाली, रेशम डोरी !
बोक्सी मोरी !
उल्टो जीवन–वीणाका सब तन्त्री बोल्छन् तन्त्री रुन्छन्,
टूट–स्वरमा, झकझक, झुनझुन,
प्रभावले नै आफै सोरी ।
स्वर, स्वर बुन्छन् उँगको जाली !
शीमल कोमल तकियाहरुका गालासँगका प्यारहरुका
कथा–रुमानी, मीठा हाली ।
“शान्ति धनी छ” गाउँछिन् नानी ।
“स्वर्ग के हो ?” बुझिरहेछन् छटछट प्राण हिमानी !
विश्व–शाल्मली फूल–गुल्जार छ !
भन्छ पवनले “निदभर ढुँटे,
आखिर बादल–तकिया, शीमल
–फूवभुवा नै स्वर्गको सार छ ! ”
शीमल बादल !
लम्बनले औ अवलम्बनले प्यासका तारा जब गुम पार्छ,
असङ्ख्य धनको तब पो सार छ !
निद्राधनी क्या अवाक् रहन्छन्, भाषा तिनको क्या लाचार !
खोजहरुको पर त्यो हेर !
क्या संसार छ ! क्या संसार छ !
मानवता छ भावुकतामा मेरो सुृन्दरता हेरी,
अल्सारनुमा, निदाउनुमा नै
आँखा जोरी !
दिनभर, दिनभर पत्थर फोरी,
आत्महत्या गर्छौ कवि किन ?
दृष्ट जगत्मा प्यासले मोरी,
माथा फोरी, कागज कोरी ! ………
सूनसानको दौलत हेर ! आँखा जोरी !”
उँग लागेछ ! झस्की उठें तब !
“गडबड नगरन ! ” भन्दै, “कस्ती
उत्ताउली भएकी तिमी ? ए मोरी”

च.

कलम समाएँ……….खेल्थे नाजुक
औंलाऔंली
तरङ्गजलमा, चोपलचापल
साथ उँगौली !
“औंली बसौली, अलि तल जौली, बयौली,
झल्को उठौली, औंली ।”

छ.

दुःख यो रण हो ! दुःख यो रण हो !
जागरण नै मूक मरण हो !
गाउन लागिन्, ताना छोडी ।
मुस्की मोरी !

ज.

तरबार फुकेर सिपाही मरेझैं
कलम गयोरी ! गयोरी !
कस्तो छोप्ने जादू तिनको !
चोट बिर्से युद्धमरणको
आँखा चिम्ले, सन्चो भो सी !

झ.

मिलजुल स्वरमा तब अब बोलें ।
“हारहरुका हार चढाएँ ! लेऊ मोरी !
खुट्टा मिच लौ, खुट्टा पसारें
सासुकी छोरी !
सौता कविता रिसाई गइन् अब, सुन्दरी गोरी,
मगजै छोडी !
आँशु उनका, प्यास तिमीकन
झ्याप्प निभाऊ चेतन मोरी !
अमरत्व गरीब छ,
दुःखी जीव छ !
मरणै धनी हो !
मरणै मीठो री ! ”