टंक सुब्बा – मेरो देश
अहमता बोकेर जलभण्डारको
व्यर्थै बगिरहेछ मेरो देश
खोलानाला र नदीहरुमा
ऐलानी बढिरहेछ
जल प्रवाह अङ्गालेर
घाटी सुकिरहेछ मेरो देशको तिर्खाहरुमा
नागबेली आकारले अग्लिएका
महाभारत र चुरे पहाडहरु
अभिषप्त भएर उभिरहेका छन् चुचुराहरुमा
सुन्दर श्वेत छङछङ् गर्ने
झरना भएको मेरो देश
विपत्तिमा दुःखिरहेछ मनोहर दृश्यहरु
मेरो देश हिम फेदीमा
गुरास भएर फुल्छ
डाफे भएर हास्छ
असीम आस्थाभरि
नेपाली भएर बाच्छ
बाच्नु मै विवश छन्
वेवारिसको घुम्टो ओढेर बस्तीहरु
त्यसैले
लोकभाका र दोहोरी गीत
बसाइ सरेछ कि कुन्नी
देखिन्छ हालीमुहाली पाहुना संस्कृतिको
मुर्चुङ्गा र बिनायो
विलाप गरिरहेछन् किन हो कुन्नी
धुन सुन्दा पञ्चैबाजा र मादलको
नया उन्मादले हो कि कुन्नी ।
मेरो देशमा
भन्न थालिएको छ यी बाजाहरु आदिम युगको
वीर सपूतहरुको देश
भूमि आर्जेर पनि
सीमित छन् किताबका ठेलीहरुमा इतिहासहरु
गौतम बुद्घले जन्म लिएको देश
शान्ति छरेर पनि
कैदि भएका छन स्वतन्त्रताहरु
दौरा सुरुवाल र ढाकाटोपी
राष्ट्रिय भेष भएको मेरो देश
टाइसुटको शोषणमा परेर हो कि कुन्नी
अब संग्रहालयमा मात्र
प्रदर्शन गरिने भएको छ ।