टंक सुब्बा – लालीगुरास
लालीगुरास
तिमी नफुले
फुल्दैनन् सुनगाभा र सयपत्री फूलहरु
हास्दैनन् वनपाखा र भीरपखेराहरु
किनकी सेता सेता हिमालका फेदीमा छौ
अग्ला अग्ला पहाडको टाकुरीमा छौ
छौ, सुशोभित सुनाखरी जस्तै
छौ हर्षित लालुपाते जस्तै
र नाच्छौ डाफे मुनालसंग गुञ्जदा लोकलहरी
त्यसैले फुलाएका छौ देशलाई मुहारभरी
लालीगुरास
खिलिएकी छौ तिमी हरियाली चुल्ठोभरी
वैंशालु युवतीको चुल्ठोमा खिलिएको फूल झैं
मुस्कुराइरहेकी हुन्छौ झरिवादल र ठिहीमा पनि
वैंशको सहरमा मुस्कुराएको मान्छे जस्तै
सारा क्षण लजाइरहेछ ति म्रो लालीमा देखेर
फुलेका छन् सुनाखरी र सयपत्री ति म्रै आभाष पाएर
त्यसैले जगमगाइ रहेछौ प्रतिष्ठा बनेर
फूलहरुको प्रतिनिधित्वमा फुलेका राष्ट्रियता जगाएर
कहिल्यै नअघाइने ति म्रो रङ्ग
चहार्छ मुटु बनेर धड्किन्छ सारा अङ्ग
लालीगुरास
तिमी नफुले पालुवा मौसममा कोइली बोल्दैन
तिमी नफुले नदीनाला सुसाउदैन
तिमी नफुले दुःखका क्षणहरु भुलिदैन
तिमी नफुले नेपालीको मन फुल्दैन
तिमी नफुले खुशियालीमा देश झुम्दैन
त्यसैले ओइलिएका मनहरुमा ताजा फूल भएर फुल
हरेकको आखामा रोशनी भरेर फुल
हरेक वर्षको चहलपहलसंगै युगौं युग फुल
लालीगुरास
तिमी सबैको मिठो सपना भएर फुल