टंक सुब्बा – दिन
घाम बोकेर जन्मने दिन
पारिलो र न्यानो हुन्छ
उज्यालो र हर्षक हुन्छ
जसले जमेको तुषारो हटेर बग्छन् उत्साहको नदीहरु
छुन पुग्छन् व्योमलाई छातीबाट हाम्फालेका मनहरु
अनि साइनु गासेर दिन
सपना भएर फुल्छ मानिससंग
पीडाका कैयौं क्षणहरु भुलाएर
जतिसुकै घातक बनेर आए पनि
दिन
पारिलो र न्यानो हुन्छ
उज्यालो र हर्षक हुन्छ
तथाकथित बहकाइका पलहरु
उकाली ओरालीहरुमा समेटिंदा
जल्न पुग्छन् आशाहरु
अध्यारोमा डुब्न पुग्छन् पाइलाहरु
तसर्थ सन्त्रास फैलन्छ भावनाकासभरि
दिनहरु
फेरि आफन्त नबन्लान् कि भनेर
तर नित्य झैं उदाउदा
प्रफुल्लित हुन्छु
र हतारले धकेल्न थाल्छु जीवनरथ
स्वीटर बुनेझैं बुन्न थाल्छु आकांक्षाहरु
अनि सुम्सुम्याउन थाल्छु फराकिला पथहरु
बढ्दै आउने अधेरीले कुल्चन्छ कि भनेर
बाधाहरु पन्छाउदैं
हुइकिन थाल्छु बतास झैं
दिनसंग सहयात्री बन्न सकिन्छ कि भनेर
तर सधैं बिरानो बनिरह्यो
आफैसंग हातेमालो बनेका दिनहरु
सधैं उदाएर अस्ताइरह्यो पाहुना बनेर
पर्खाइमा , सेताम्मै केशराशी फुलाएर
सारा जीवन भुलाएर
उभ्याउन खोजें दिन
बचाउन खोजे दिन
कहिल्यै उभेनन् सामुन्ने
बगिरहे नदी झैं
पग्लिरहे हिउ झैं
थामिएनन् कहिल्यै
दिनमा सारा कुरा हुन्छ
थाहा छ सबलाई
त्यसैले घाम बोकेर जन्मने दिन
पारिलो र न्यानो हुन्छ
उज्यालो र हर्षक हुन्छ ।