बोधराज पन्त – म मास्टर हुँ
सानो छँदा
पहाडबाट हिँउद झर्ने जति पनि खुट्टाहरु ढोगियो
जति सम्मानहरु बाँडियो
सबैले समवेत स्वरमा आशीर्वचन बोले
‘ठूलो मान्छे भएस बाबू, मास्टर भएस्’
म ठुलो मान्छे भएँ भइन थाहा छैन
मास्टर भएको छू
र कोस्दैछू तिनीहरुको कृपणतालाई
के जान्थ्यो तिनको मलाइ मन्त्री नै भइदिएस् भन्दा ?
म मास्टर हुँ साथी
मन भरि सपना बोकेर कि यसो गर्छू, उसो गर्छू
यस्तो हून्छू , उस्तो हून्छू
यथार्थताको धरातलबाट बाहिर
जव फूट्छन् आकांक्षाहरु काँचको घर झैं
म एउटा डिजास्टर हुँ साथी
म मास्टर हु ।
कक्षामा भाषण दिन्छू
म एउटा नेता हुं
केटाकेटीहरु जब वैंश साट्न थाल्छन् एकापसमा
नदेखे झैं गर्नूपर्छ
एउटा अभिनेता हुं
घर भत्केको छ
स्वास्नीको फाटेको चोलोबाट
जो कोहीले मेरो इज्यत छर्लंङ्ग देख्न सक्छ
छोरा छोरीको स्कुल फी को बक्यौता हेरे पछि
जो कोहीले मेरो धरोको गज नाप्न सक्छ
जंग बहादूरका पालाको कलेंठिएको कोट लगाएर
बिहान बांचिदिन खाएको बासी भातको अपानवायू छाड्दै
स्वास्थ्य शिक्षाका लामा लामा ब्याख्यानहरु छाँट्ने
म मास्टर हुँ साथी
म मास्टर हुँ ।
उसको छोरो परीक्षामा फेल भो
मेरो मृत्यूका निम्ति उसले बोको भाकेको छ
छोरीको विहे
पास हूने शर्तमा छिनेको थियो
भइन
अब मेरा जन्ती उसले डाकेको छ
एउटा सानो जागीर छ
मलाई यही जागीरको साह्रै पीर छ
इतिहासमा इतिहास पढाउनु हुदैन
राजनीति गरेको आरोप लाग्छ
केटा केटीहरु पढ्दैनन् , फेल हुन्छन्
माथीको टेबलले स्पष्टीकरण माग्छ
यो त्रिशंकूमा उभिएको जिन्दगी
चारैतिर बम गोलाहरु फूटिरहेको बेला
सक्छौ तिमी चैनले एउटा गहकिलो सास फेर्न
थिचिएको , मिचिएको
यो कालोपत्रे सडकमा
असंख्य चक्काहरुले किचिएको
म मास्टर हुं साथी
म मास्टर हुं ।
घिसिनू पर्छ इसारामा म मात्र एउटा चक हुं
सकि नसकि बोल्नू पर्छ बौलाहाको बकबक हुं
कागज, कलम, मस्तक, मसी
पीडित व्यथित यो सूमरिएको खसी
आदर्श खान्छू पच्दैन
बारंबार गूसलखाना जान्छु
अभावमा छोरो चोर भएछ
भक्कानो रोकेर छूटाउन उसलाई
अनूहार ढाक्दै पूलीसथाना जान्छु
जसले जे मन लाग्छ लेखे हूने म एउटा कालोपाटी हुं
इश्वरको नाममा वेदीमा उभिएकोे कालो बोकाको म घाँटी हुँ
कोटको मैला झारे पनि हुने
जूत्ताको धुलो निखारे पनि हुने
बढारे पनि हूने
भाँडा कालो छ , त्यसैले माझे पनि हुने
गल्तिले केही लेखियो
बेसरी रगडेर मेटे पनि हुने
अस्तित्व हूंदा हूंदै पनि सतीत्व नभएको
म एउटा डस्टर हुँ साथी
म मास्टर हुँ ।
मणिग्राम,रुपन्देही
एकदम राम्रो