Gopal Prasad Rimal – Fool Ra Kschhan

“फूल झर्दछ, फुल्दछ
फुल्दछ, झर्दछ”
तर त्यो फूल जसले
छाती थापी फक्रेथ्यो
त्यो थोपालाई तृप्ति दिने
जब जगमा अमृत झरेथ्यो
के त्यो फूल फुल्यो ?
“क्षण आउँछ, जान्छ
जान्छ, आउँछ”
तर त्यो क्षण जसलाई
भाग्यचक्रले विरही दिनमा
सात समुद्रपारिकी
परीलाई झैं ल्यायो
के त्यो क्षण आयो ?
स्वर्गयुगझैं अङ्कित स्मृतिमा
त्यो क्षण कृष्णयुगझैं फर्केन
अमृत–प्यालाझैं पाएको त्यो फूल
हलाहलझैं बारबार मिलेन !