लालीगुराँश – जाली माया
समाजको बन्धन छोडी
नाता सम्बन्ध सारा तोडी
साथ दिएँ उसलाई
सुखी जीवन बिताउँला भनी
तर निर्दोष मेरो मायामा
बिना बर्षातै पहिरो गएछ
उसका सबै वाचा र कसम
तृष्णाको भेल भै बगेछ ।
निरस भो जिन्दगी
अन्धकार देख्छु चारैतिर
कहाँ जाउँ कसलाइ पोखुँ
नदेखिने यो मुटुको पीर
सप्तरंगी सपना बुनीदिने
पाएछ उसले अरु नै कोही
कसरी सम्झाउँ यो निर्दोष मनलाई
याद आइरहन्छ पलपल उही ।
फाटेको खुशी सिउन नपाउँदै
मायाको चिनो बढेर आयो
मायाको अपमान त सहेकै थिएँ
कोखको लाज सामुन्ने आयो
सन्तानको माया समाजको तिरस्कार
कसरी सहुँ म यो भारी
लाग्दैनथ्यो नारी कमजोर हुन्छन्
तर आफैं आज भएँ अबला नारी ।
टेक्ने समाउने केही छैन
माथि खुल्ला आकाश तल चिसो माटो
कसरी जिउँ कसका लागि जिउँ
समाजले भन्छ बाँच्नु भन्दा मरेकै निको
मेरो चोखो मन अनि
निश्छल माया जालीको फन्दामा परेछ
अर्काको कुभलो गर्दा भलो किन हुन्थ्यो र
ऊ त पक्राउमा जेल परेछ ।
मनमा धेरै माया अनि
थोरै आश लिएर जेलमै भेट्न गएँ
मायाको सपना उसको नासो अनि
समाजको तिरस्कार सबै सुनाएँ
अब त बुद्धि फिर्यो होला भनेर
रिहाइको ब्यबस्था मिलाएँ
उ त केटी बेच्ने दलाल रहेछ
आफु दिल्लीको कोठीमा पुगेपछि पो चालपाएँ ।