शरद निरोला – किन आयौ अमेरिका?
के के न पाउँला भनी अमेरिका आयौ
बाबु-बराजेले नखाएको मसालेदार गोता खायौ
आउन त आयौ सबै कुरा छोडेर
आफ्नो स्वाभिमान आफ्नो वर्चस्व सबै गुमायौ
त्यसै भनिकन निराशावादीहरु कुर्लिन्छन
आफू केही गर्न सक्तैनन् अर्कालाई दोष दिन्छन
निरर्थक भावुकताका क्षणिक लहरमा रमाउने ती
अमेरिकाको केवल खेदो मात्र गर्छन
हाम्रो देश कामै नगरी खाने देश हो
अमेरिका कामै मात्र गरेर खाने देश हो
हाम्रो देशमा कामचोरलाई सधैं हाई-हाई छ
यस देशमा कामचोरलाई सधैं बाई-बाई छ
यो कर्मठ मान्छेहरुले बनाएको देश कर्मठ्तामै अडेको छ
यो इमान्दारी र सच्चाईको बज्र-कठोर जगमा उभिएको छ
यसमा आफ्नो इमान्दारी हाल्नसके लोक-परलोक सप्रन्छ
बेइमानीको बाटो लिए इहलोक समेत बिग्रिन्छ
गर्छु भन्नेलाई यहाँ अवसरको खाँचो छैन
उद्धेश्य लिएर हिंड्नेका लागि बाटोमा काँडा छैन
निरुदेश्य हिंड्नेका लागि यो मरुभूमि समान छ
सफल त्यही बन्ने छ जसको हातमा तीर-कमान छ