Bijaya Pun – Ekai Chhin Ko Kuro

विजय पुन – एकै छिनको कुरो

एकै छिनको कुरो त थियो,
तिमीले हुन्छ भनेको भए,
त्यो कफीको बाफ
यो चिसो साझमा हराउने थिएँन,
डारलिंग हार्बर* को त्यो बिघ्न
अल्लारे मौसम,
किन चौपट्टको सन्नाटा हुन्थ्यो र,
हुनत,
अत्ताउने सधैको दैनिकीमा
केहि पल भए पनि
कतै मिठो त,
कतै तितो,
बैसका रेखाहरु आखामै छदै,
एक क्षण भएपनि,
हीर जस्तै मरिमेटी,
पागलसरी,
उसको अंगालोमा बेपर्वाह बस्न पाए,
कल्पना अनौठो अनौठो
तर,
धेरै मिठो,
धत्!
हुन त
उमेरको दोष पनि होला,
दिक्क लाग्दो
एकलकाटे जीवनशैली,
अनि रोमान्टिक मुभी,
त्यसैको साइड इफेक्ट होला,
आ..जे होस्,
तैपनि,
रिस उठ्दो केटा के,
एकै छिनको कुरो त थियो,
आधा घण्टा बढी बसे
के हुन्थ्यो?
हरेक चोटी
प्रतिबिम्ब हेर्छु,
कल्पनै कल्पनामा,
उसको चित्रण गर्छु,
तारिफहरु,
पुराना पुराना खोतल्दै,
पुन: सम्हालिदै,
तयार हुन्छु,
फुरुङ्ग पर्दै
संग संगै कहाँ कहाँ पुग्छु,
लाग्थ्यो
अब भन्छौ,
अब त भन्छौ,
तर
न त तिमि भन्छौ,
न त समय रुक्छ,
उकुस मुकुस
यो दिलको हाल,
न त फकाएर हुन्छ,
सोचे मै भन्छु,
मौका खोज्दा खोज्दै,
तिमीलाई हतार हुन्छ,
एकै छिनको कुरो त थियो,
हरे,
मन पराउछु भन्न पनि
एक वर्ष नै लाग्यो ल |