Nistej – Bartaman Pariprekshya Ma

निस्तेज – वर्तमान परिप्रेक्षमा

वर्तमान परिप्रेक्षमा
ओझेलमा परेका छन् कतिपय परिप्रेक्षहरू !

वर्तमान परिप्रेक्षमा
हामी डराएर जूनकिरीसङ्ग
खाटमुनी लुकेका छौं
र पढ्दैछौं हाम्रो वीरताको इतिहास !

शिखण्डीहरू
निर्बाध विचरण गर्दैछन कुरुक्षेत्रमा
मुस्कुराउँदै र अनुहार पछाडी
लुकाउँदैछन आफ्नो लाचारी
नेपथ्यबाट अर्जुनको प्रहारको प्रतिक्षामा
वाण बर्साउँदै अभेद्य भीष्म वक्षमा,
अखबार खोज्दैछन शिखण्डीहरू
छपाउन आफ्नो वीरताको समाचार
शिखण्डीहरूको आत्मविज्ञापनको लालसा,
नेपथ्यबाट अर्जुनको प्रहार
र भीष्मको अभेद्य छाती
कुरुक्षेत्रका नियति बनेका छन् ।

वर्तमान परिप्रेक्षमा
चमेली षड्यन्त्र गन्हाउँदैछ
बेलीले बोक्दैछ बस्ती जलेको गन्ध
जाई र जुही हरू फुल्न डराएझैं छन्
गुलाब काँडा मत्रै फुलाउँदैछ
र गुराँसको बैंसालु मुस्कान
त्रसित छ यो मौसम देखेर
आकाशबाट अम्लवर्षा हुने हल्लाहरू बोकेर
एक हूल परेवाहरू
भूमिगत भएकाछन् ।
ब्वाँसाहरूको बस्तीमा
वसन्तोत्सवको तयारी चलिराखेको छ
अभूतपूर्व तवरले
खुम्चिदैंछन यो वस्तीका सीमाहरू
फाँट खुम्चिएर खेत
खेत खुम्चिएर घडेरी बन्दैछन
त्यस्तै बस्ती खुम्चिएर टोल
टोल खुम्चिएर घर
घर खुम्चिएर कोठा
र कोठा खुम्चिएर कुना भईराखेको वर्तमान परिप्रेक्षमा
सत्ताको प्रयोगशालामा
अभ्यास गरिंदैछन नयाँ नयाँ प्रयोगहरू
नयाँ नयाँ सूत्रहरू
नयाँ नयाँ गणितहरू
र नयाँ नयाँ व्याकरणहरू
शसकहरू गोप्य मन्त्रणामा छन्
र दिनहुँ छपाउँदैछन आतंक अखबारमा ।

युगौं पुरानो घाउमाथिको पाप्रा कोट्याउँदै
बसेको छ ईतिहासले बिर्सिएको यौटा योद्धा
ऊ सम्झिदैंछ आफ्ना हारका शृंखलाहरू
र बिस्तारै फुक्ने कोसिस गर्दैछ प्रतिशोधको आगो
खरानी भित्र केही झिल्काहरू उठ्दैछन
वाणविद्व छातीबाट पीप निचोर्दै
ऊ फेर्न खोज्दैछ आफ्नो शापित ईतिहास
पराजयका शृंखलाहरू हुनेछैनन अन्तहीन
शिखण्डी समयका वाणहरूमा छैन त्यो विष
जस्ले रोक्न सकोस उसको रक्त-प्रवाह।

वर्तमान परिप्रेक्षमा
गतिमान वर्तमान परिप्रेक्षमा
ओझेलमा परेका छन् कतिपय परिप्रेक्षहरू
र देखा पर्दैछन कतिपय नौला परिप्रेक्षहरू
यो समय दास बनेको छ
परिप्रेक्षहरूको
वर्तमान परिप्रेक्षमा
परिप्रेक्षहरूको यस महान असङ्गतिमा
हामी हाम्रो वीरताको इतिहास किताबहरूमा कैद गरेर
खाटमुनी लुकेका छौं र पढ्दैंछौं
घोक्दैछौं इतिहासका परिप्रेक्षहरू।

बैतडी,हाल: धनगढी