भाष्कर काजी – हजुरबा र नानी
आँगनको डिलमा बसेर
दाम्लो बाट्तै गरेका पाका मान्छे
जस्ले जीवनमा यस्ता धेरै कामहरु गरे
गरे, कहिले खुकुरी र बन्चरो बोकेर हिँडे
कहिले नाम्लो बोकेर हिँडे
तर उद्देश्य भने एउटै थियो —
हातमुखको समस्या टार्नु
खुकुरीले दाउरा काट्तै
नाम्लोले भारी बोके पीठ्युका छाला उप्कीउन्जेल ।
यस्ता धेरै काम गरे
उकाली चढे, ओराली झरे यस्तै परिस्थीतिभीत्र
पाकीसके उनि उमेरले
घामले अनि सबै किसीमले
थाकीसके उनी अनुभव बटुल्दा बटुल्दा
किनकी उनको अनुभव
कतै काम लागेन
कतैबाट मागै भएन
कतै पनि प्रयोग गर्न पाएनन् उनले
आफ्ना सीपहरु ।
तर अब समय फेरीएको छ
मन्त्रीले भाषण गरे अनुसार
उनले पनि सर्टिफिकेट प्राप्त गर्नेछन्
उनी खुशी नै देखिन्छन्
तर, पिर छ उनलाई
‘के गर्ने यो सर्टिफीकेटले ? ’
उनका समस्या जहिँका तहिँ छन्
उनले गर्ने त्यहि नै हो
फरक यत्ति छ —
उनले बोक्ने खुकुरीले
आज दाउरा होइन
मान्छेको घाँटी छिनाएको छ
नाम्लोले भारी होइन
मान्छे झुन्डयाउने पासोको काम गरेको छ
हातमुख जोर्नलाइ अब
पीठ्यूका छाला फेर्नुपर्दैन
तालुको रौँ खुइल्याउनुपर्दैन
दलको नाम बेची चन्दा मागे पुुग्छ
धरौटी स्वरुप अलि बढि पैसा असुले हुन्छ
गाडी रोकी सम्झौता गरे हुन्छ
बन्दुक बोकी रोटी मागे पाइन्छ ।
कुरो त यी पनि बुझ्छन्
नबुझुन् पनि किन ?
यी पाका मान्छे —
मेरा अग्रज हुन्
तिम्रा अग्रज हुन्
हाम्रा अग्रज हुन् ।
अहिले भर्खर विद्यालयबाट फर्केको नानीले
‘ हजुर बा, के गर्ने यो दाम्लो?’ भनि सोधेपछि —
उनि झस्कीए आफ्नो अतितसङ्ग
थुप्रै मौन अनुत्तरित प्रश्नहरु गर्दै ।
– रुँघा ७, रुकुम,हाल:त्रि. वि. कीर्तिपुर