गायत्री विष्ट – सङ्घर्षको मैदान
नीलो आकाशमा
मडारिरहन्छन् काला बादल
युद्ध चर्किरहन्छ घनघोर ।
शुभ्र भाष्कर
चिरेर बादलको छाती
धर्तीलाई न्यानो पार्दछ
आभा छर्दछ मृत्तिका कणकणमा ।
सङ्घर्षमा उत्रनेहरूका लागि
प्रेरणा यही होइन र ?
पाइला पाइलामा कहाँ छ र ?
नीलकाँडाहरू नबिझेका
चसचस नदुखेको
कहाँ छ र घाइते मुटु ?
बग्रेल्ती छेपाराहरू मौलाएको यो युगमा
साङ्घातिक आक्रमण कहाँ हुँदैन र ?
मर्दैनन् विचारका रक्तवीजहरू
क्रूर नङ्ग्राले कोपरिएर घाइते हुँदैमा ।
असमानताको गहिरो खाडलमा
दारुण व्यथा बोकेर रुमलिनेहरूको माझ
समानताको प्रज्वलित दीप बालेर
विचारका रुक्तवीजहरू
ज्वालामुखीजस्तै विष्पोट हुन्छन्
ज्ञानका ज्योति छरेर ।
सर्वत्र गिद्देदृष्टि फैलिएको
एक्काइसौं शताब्दीको पूर्व सन्ध्यामा
यात्रामा आफूलाई बन्धकी नराखी
को सामेल हुन सक्यो ?
षड्यन्त्रको वैशाखी टेक्नुपर्ने बाध्यता
निरन्तर कायम रहन सक्दैन
पक्षघातको जालो बुन्नेहरूलाई के थाहा ?
जिन्दगीले क्रूरता फुटाल्छ भनेर ।