Sarubhakta – Jalammya Dharti Ra Sikar Kavita

पुनरावृत्त सिसिफसका पुराकथाहरु
खप्पडहरुको पहाड चढेर
साइवरेश्वर इन्टरनेटका दानवहरु खेलाउँछ
शालिग्रामछाप
चिसो मरुभूमिका ताता सपनाहरु
गलैचाका फुलहरु फुलेर
आह ! म जिन्दगीका हिउँदहरुद्वारा लखेटिन्छु
चिप्लेकिरो ब्रह्माण्डभरि
लाजवन्ती झारका सम्वेदनाहरु कहाँ छन् ?
अक्सीजन खोसाखोस
लामकाने वाँदरहरु छक्क छन् किन हावा
तानेर वाँच्नु पर्छ ?
जलाम्य धर्तीः बाढी कहाँ आउन सक्छ ?
आइसक्रिम जमेको खोलामाथि
श्वेतश्याम वादलहरु छन्
महाप्रलयः सप्रसङ्ग नोआका ढुङ्गाहरु
कि मर्नु छ कि मार्नु छ, बाँच्नु कहाँ छ
ककुनभित्रका सपनाहरु ?
माला फुलको हुँदैन हत्याको हुन्छ
यसर्थ उनीहरुले सुन्तला वम खाए
कागती वम खाए
अव कहाँ दाग्ने लौका प्रक्षेपाश्त्रहरु ?
‘समग्रमा पृथ्वी सुन्दर छ हामी मात्र कुरुप
किन भयौ ?’
मलामी विचार, खोई कहाँ हराए भूभौतिक
अनङ्गदेवहरु ?
‘प्वाँ ! प्वाँ ! प्वाँ ! प्वाँ !’ शहरमा सवभन्दा
महत्वपूर्ण सवारी संघटना – फोहोर वोक्ने
ट्याँक्टर आउँदैछ
यसर्थ सफा – सभ्रान्तहरु सबै करतलध्वनि सहित
राजमार्ग – स्वागतमा व्यस्त छन्
लठुवा = मानवता
झिंगाहरुको आक्रमणदेखि वेखवर छन्
हात्तीहरु माटोवाट नुन खोज्दैछन्
हामी नुनबाट माटो खोज्दैछौं
उः ! कमिलाहरु क्याट्फिशको सिकार खेल्दैछन्
हामी आफ्नै सिकार खेल्दैछौं ।