Sitaram Acharya ‘Sagar’ – Kina Dinchhyou Pida [Nepali Gajal]

सिताराम आचार्य ‘सागर’ – किन दिन्छ्यौ पीडा

हुन्न भनी टार बरु किन दिन्छ्यौ पीडा
चट्टै चुँडी मार बरु किन दिन्छ्यौ पीडा

धेरै जित्यौ होला तिम्ले पिरतीका खेलहरू
मै लिनेछु हार बरु किन दिन्छ्यौ पीडा

दुख, पीडा सहुँला म रोएरै भए पनि
हर्षका आँसु झार बरु किन दिन्छ्यौ पीडा

रमाऊ तिमी आफ्नै खुशियाली रमझममा
‘सागर’ एक्लो पार बरु किन दिन्छ्यौ पीडा