Baldev Bhatta – Kalam Ka Mithakharu

बलदेव भट्ट – कलमका मिथकहरु

आफ्नै अनुष्ठानहरु भित्र
बर्षौंसम्म निम्छरो भजनगीत गाउदैं आएको
‘सेरेमोनियल’ राष्ट्रिय साहित्य
उत्तरआधुनिक चँदुवाहरुमा बेजोड देखिएको छ ।

खोरेतयुगिन फोसिलहरु
पतझडको बेलाका गुँड झैं
नांगा हाँगाहरुमा आफ्नो लाज प्रदर्शन गर्दैछन
बटारिएको शब्द-संस्कार लकेटयुद्धको बाटोमा
उत्तराधुनिक भिरको उचाई हेर्दै
यात्री सिसिफसहरुलाई आशाको क्याप्सुल बेच्दैछ ।
शरणार्थीहरुका फौजहरु
पर्सियाको संस्कार खोज्न
नाईटभिजन प्रयोग गर्दैछन ,
इतिहासका होमोपिथेकसहरु
डार्विनका औंलाहरुको खोजिमा
छोड्दैछन आवासका निर्जन टापुहरु ।

नौसैनिक हराएको सागरझैँ
मौन छ साहित्यको महाशागर
शार्कका बथानहरु नलीहाडको खोजिगर्न
सेलिब्रेटी नेता चयन गर्दैछन

हिमतालको मेला भर्दैछन
यिनका अभियन्ताहरु ।

अतिशयुक्तिको आकाशमा
आफ्नो प्रतिबिम्ब खोज्दै
प्रणयगीत सुन्दै छ हिजोको इतिहास,
आर्सेनिकयुक्त साहित्य
उत्तरआधुनिक क्याप्सुलहरुको खोजिगर्दै
निर्मलीकरणको राजमार्ग हेरिबस्दो छ ।

आऔं संसारभरबाट
कृतिम हौंसलामा नरम्ने
कलमका मिथकहरु हो,
नेपाली जीनहरुमा मौलाउदा छन
तिमीहरुका सबै जितका हौसलाहरु ।

सिंगापुर