Khemchandra Adhikari – Devkota Prati

खेमचन्द्र अधिकारी – देवकोटाप्रति

सन्ध्याकालमा
भिखारी र यात्री अतिथिहरू बनेर
वसन्तपूणिर्माप्रति न्याय गर्नुपर्‍यो भनी
सम्झाउन आएको बेला
मैले हुरीको गीत गाइदिएँ,
शाहजहाँको इच्छा व्यक्त गरेँ ।
पागल र गरिब आएर
ज्वरशमन प्रकृतिको व्याख्या गर्दै
राजासँग कलम मागे,
हामी नेपालीको गैंडोपासना र
साँढे बन्ने इच्छा सम्झी
मेरो बक फुट्यो-
प्रभुजी भेडो बनाऊ ।
नववर्षको समयमा वनमा
झञ्झाप्रति बेवास्ता गर्दै
घाँसीले तिनको घँसिया गीत गाइरहेको बेला
मानिसको विराटरूप देखी
इन्द्रेणीको सात रङ्को रहस्य बुझेँ ।
गौँथली र देवकोटाले कसरी बात मारे होलान् ।
दार्जीलिङको बाघचुलीमा गर गम्दा पनि
पत्तो पाइँन ।
बाघले बच्चा किन खान्छ, र
एक सुन्दरी वेश्याप्रति किन मोह जाग्छ
यसको रहस्य पत्ता लगाउन सकिनँ ।
बढीकी विष्णुमतीसित
पितृविलापको चर्चा गरिरहँदा
विष्णुमतीको धमिलो पानीको
अपव्याख्या गर्दै
धोबिनीले पगली बोली
तर
जब मैले झञ्झावर्णन सुनाइदिएँ
त्यसपछि
मुनामदनको झ्याउरे लय सुसेल्दै
मायाविनी सर्सीलाई भेट्न ऊ गई ।
लुनी, कुञ्जिनी, शाकुन्तलजस्ता
प्रख्यात सहपाठीले सुनाएको
प्रमिथसको पराक्रम
सृजामातालाई सुनाएपछि
मेरो मन
अहिले केही हलुङ्गो भएको छ ।

हाल- कीर्तिपुर, काठमाडौँ