Deepak Jadit – Uchai

सानै देखि हल्लक्कै बढेको
उसको शारिरिक उचाई
उसैको आफ्नालाई बिझायो
आफ्नैले उसलाई होच्याउन
सानो दर्जा दिए
आफन्तले दिएको सानो दर्जा
उसलाई बिझायो
बिझेको मनले गमेर उसले
आफ्नाहरुलाई अवलोकन गर्यो
देख्यो उसलाई होच्याउने आफ्नाहरु
सबै फल लाग्ने रुख भए
सबै निहुरिने , सँधै निहुरिने
उसलाई त्यो पनि बिझायो
सोच्यो म निहुरिनु हुँदैन
सानैदेखि ऊ बेग्लै भयो
आफ्नाहरुलाई जित्ने अठोट गरेर
ऊ फल नलाग्ने रुख भयो
निहुरिनु परेन उस्लाई कहिल्यै
आफ्नाको अगाडि निहुरिएन
ऊ परायाको अगाडि निहुरिएन
केवल अग्लिन जान्यो
उसले कहिँ नझुकि
कसैसंग ननिहुरिई
आफ्नो उचाई कायम राख्यो
अग्लिएरै सर्वोच्चता पायो उसले
अग्लिएरै सगरमाथा भयो
आज आफ्नाहरुले भने
अब अग्लिने ठाउँ छैन
आज परायहरुले भने
अब छुनलाई कुनै उचाई छैन
तर उसले
आफ्नाहरुलाई सुनेन
परायाहरुलाई गनेन
र अग्लिंदैछ अझै
आफ्नो उचाईको हद नाघेर ।