अनन्त प्रसाद वाग्ले – ध्वजाको गीत
हररात धर्तीमा र्झछ
र निर्विध्न लडिबुडी गर्छ जून
पानीमा, माटोमा, जङ्गलमा, हिमालमा
प्रत्येक बस्ती मैलिएको छ
हरेकको मन धस्सिएको छ
को निदाउन सक्छ जूनको चित्कारले घोच्ताघोच्तै
मनमा, मुटुमा, शरीरमा, कपालमा
ताता लासहरू थुप्रिएको क्षितिज टेक्दै
आउँछ सुर्य र छाति पिट्दै फुटाउँछ भक्कानो
खालि सिउँदोको, रित्तो काखको, टुहुरा नानीको
भासिन खोज्छ रातो भूइँ
कोत्रिन खोज्छ नीलो किनारा
तैपनि फहराइरहन्छ ध्वजा
पीडित पहाडलाई सान्त्वना दिंदै
शीतल, न्यानो, चम्किलो, उज्यालो
सुर्य अपहरणको अभ्यास
नालीमा चन्द्र चोबल्ने चालबाजी
नगर्नु यी निर्रथक स्वैरकल्पना
पीडाको पहाडले थिचिए पनि
बाँकी छन् स्वाभिमानका अनुयायीहरू
छातिहरू, शिरहरू, मुट्ठीहरू, मस्तिष्कहरू
छिमेकी खुसी खुसी पार्न
आफ्नै टोपीले सिंगान पुछिदिनु पर्दैन
परिवर्तनका लागि घाँटी नै रेट्नु पर्दैन
बालकको, वृद्धको, परेवाको, बुद्धको
रुनु नै छ भने
रोएकै छन् वियोगी चखेवा
रोएकै छन् विरही न्याउली
डाँफेको कल्की झैं अग्लिंदै-अग्लिंदै
हिमाल हाँसिरहनु पर्छ
बलिरहनु पर्छ शान्तिको दीप
बरु हामी जाउँ पग्लिंदै-पग्लिंदै
पाखाभरि फुलिरहनु पर्छ गुराँस
र, टुट्नु हुन्न ध्वजाको गीत