नारायण तिवारी – म जुत्ता हुँ
म जुत्ता हुँ
कोही लगाउँछ
म मर्दछु –
कोही फेरि लगाउँछ
· ·
खिइनु पनि मर्नु हो
म खिइँदै मर्छु
घिर्सार्छन् मलाई
मेरो नाम नमेटिउञ्जेल
पर्छार्छन् मलाई …
· ·
म जुत्ता हुँ
कोही शिरमा लगाउँदैनन्
· ·
म मर्छु छिटै
कोही तैयार छैनन् मलाई
जिर्णोद्वार गर्न
फेरी – फेरी लगाउनु मज्जा
मलाई मारेर कोही हाँस्छन्
· ·
पिपलबोटमा मेरो इतिहास छ
लेखकहरू लेख्छन्
आन्दोलन – बुटपालिस
कलम बोक्ने हातहरू मलाई
चम्काउन तैयार छन्
लेखकहरू खोइ कहाँ हरायौ अचेल
म खोजिरहेछु –
फेरि त्यही लेखकलाई
· ·
म जुत्ता हुँ
के अवश्यम्भावी छ मेरो मृत्यु ?
म सोध्दैछु ए कवि !
त्रि्रो कवितामा के लख्दैछौ तिमी
मेरो उत्तरआधुनिक मृत्यु अचेल ?
· ·
म को हुँ
सायद चन्द्रशमसेरले अमलेख गर्न नसकेको
दास हुँ
जसका खुट्टामा छैनन् जुत्ता
सायद म स्वयम् जुत्ता हुँ
· ·
म कुनै जात हुइँन
म दास हुँ ख्वामित फगत दास
न मधेसी
न जनजाती
न महिला
न दलित
न आदिवासी
म जुत्ता हुँ स्वामी !
के मेरो पुनर्जीवन संभव छ ?
· ·
मालिक !
मेरो आत्मसम्मान संभव छ …?