Rajeshwar Karki – Hatiyar

राजेश्वर कार्की – हतियार

सबैले भन्छन्-
हतियारको जङ्गलमा सुरक्षित होइन्छ
यतिखेर मेरो चेतना पनि
सम्पूर्ण हतियारबद्ध छ

र सङ्ग्राममा
तिमीले गुलेली हान्यौ
मैले घुयेँत्रो चलाएँ
तिमीले हँसिया चलायौ
मैले खुकुरी चलाएँ
तिमीले तरबार निकाल्यौ
मैले खुँडा चलाएँ
तिमीले थ्री-नट-थ्री पड्कायौ
मैले बन्दुक चलाएँ
तिमीले एस. एल. आर. देखायौ
मैले एल. एम. जी. उठाएँ
तिमीले ए. के. फोर्टीसेभेन प्रयोग गर्‍यौ
म हतियारविहीन उभिएँ

जबसम्म मसँग हतियार थियो
जित्ने बहानामा मैले हारिरहेँ
तर जब हतियारविहीन चेतना, म
तिम्रो मनको सँघारमा उभिएँ
अनिमात्र म सुरक्षित रहेँ
र विजयी भएँ ।