Sabina Sindhu – Chihan Uthchha

सबिना सिन्धु – चिहान उठ्छ

क्रान्तिको रक्तरन्जित खोलो
फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ
र चिहान उठ्छ, हतियार बोकेर
मान्छे मान्छे भएर उठ्छ ।
न्यायको खातिर
मान्छे इतिहास भएर उठ्छ
सत्यको खातिर !
पाखण्डी इजलास
फेरी विस्थापित हुन्छ

जे होस् चिहान उठ्छ ।

ढुङ्गा जस्तै साह्रो पारेर मुटु
समयको सम्पूर्ण अधिकार
बिद्रोहको तुफान भएर उठ्छ ।
सिङ्गै कथा जन्माउँछ
बज्रिन्छ छातीमा असन्तुष्टिका भाग्य रेखा

अन्तमा
शरीरबाट रगतका छिटा
उच्छिट्टिएर आकार बन्छ देशको
आकार बन्छ मुस्कानको

चिहान क्रान्तिका लागि उठ्छ
चिहान शान्तिका लागि उठ्छ

जे होस् चिहान उठ्छ ।