धेरै दिनपछि चिया पसलमा
मनमिल्ने साथीहरूसँग आज भेटेँ
छुट्टिँदा उनीहरूबाट पाएको शान्ति
घरसम्म पुग्ने गाडी-भाडा तिर्दै सिद्दियो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।
पुस्तकालयका तृपिटक पढेँ
पन्ना-पन्नामा च्यापिएर बसेको
शान्तिलाई दिमागमा उतारेर आउँदै थिएँ
जुलुसमा लाठी चार्ज भयो गिरफ्तार भएँ
हिरासतभित्र कैद दिमागमा
शान्तिको पर्दा नै च्यातियो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।
गुम्बामा पसेँ
बुद्धका सुनको तेस्रो नेत्रबाट झरेको
शान्ति-भष्महरू थापेर पाकिटमा हालेँ
बाटैमा मेरो पाकिट मारियो
गुम्बासम्म जाने-आउँने बाटो-घाटो
पाकिटमार-ईटहरूले बनेको देखेर दिक्क लाग्यो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।
शहीदगेटमा एक भद्र मानिस भेटेँ
उनका राष्ट्रवादी अनुभूतिहरूले दंग परेर
मुलुकको मानचित्रमा
देशप्रेमको कुचिले शान्ति पोतिरहेको थिएँ
छिमेकीले सिमानै मिचेर घर बनाएपछि
मेरो देशप्रेमी कलेजो फलामको झिरमा उनियो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।
मसानघाटमा
एक विदुशी चिन्तकलाई भेटेँ
‘लोभ-लालच नगर्नु !
यी सबै अनित्य हुन्’ भन्ने
उनको चिन्तन-प्रवचनले दिक्षित म
मेरो लिम्बुवानमा ताल्चै नलाई ओछ्यान पसेँ
विहान हेर्दा मुलुक अर्काको चार किल्लामा रीकोपसेछ
घरको धुरीहुँदै झुल्केको अशान्तिले
मेरो आँगन ढकमक्क ढाक्यो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।
मरूभूमिको बालुवा पर्वतमा
दुइ-चार स्वर्ग घुमिसकेको कविलाई भेटेँ
उनका सुन्दर कविताहरू सुनेर मैले
दुनियाँलाई बगैँचा
र मानिसलाई रंगिन फूल देख्न थालेँ
तर एकदिन आफ्नै दाजु-भाइबाट
अंशबंडामा ठगिँदाको पीडाले म रन्थनिएँ
र फेरि म शान्तिविहिन दरिद्र भएँ ।
चिहानघारीको पार्कमा
बरिष्ठ गायकका राष्ट्रिय गीतहरू सुनेपछि
मेरो हरेक तन्तुतिर दगुरिरहेको रगतसँगै
देशभक्तीको लय बग्न थालेजस्तो लाग्यो
तर रगत जाँचमा क्यान्सरका सेलहरू देखिएपछि
शरिरका नशाभरि मलामीहरू हिँडिरहेजस्तो लाग्यो
र फेरि म शान्तिविहिन दरिद्र भएँ ।
विश्वबैंकको बैठक कक्षमा
एक प्रख्यात उद्योगपतिलाई भेटेँ
उनका औद्योगिक रणनीतिहरू सुनेर
मुलुकमा वेरोजगारी चाँडै हटला भनि ठानेँ
लगत्तै तिनले बैँकहरुलाई ठगेको प्रतिवेदन पढेँ
अर्थतन्त्रका हरिया पातजस्ता मेरा हातहरु
किरा-फटेङ्ग्राले खाएर झिक्रै पारेको देखेँ
र फेरि म शान्तिविहिन दरिद्र भएँ ।
पशुपतिको प्रांगणमा
एकजना पुजारीलाई भेटेँ
उनले गाएका इश्वर-लिप्त भजनहरु सुनेँ
भगवानप्रतिको उनको आस्था देखेर
देवताका इमान्दार मुनिम भेटेजस्तो लाग्यो
तर मूर्तिचोरका नायकको योजना मुताबिक
चोर्दा-चोर्दै मुर्तिसहित पक्राउ परेर
ठिंग उभिएको काँचको पर्दामा उसलाई देखेँ
मेरो मनको पुरातत्वनै भत्कियो
र फेरि म शान्तिविहिन दरिद्र भएँ ।
मन्त्रालयमै आफ्नो जरा उमारेका
एक गजलकार-नोकरशाहलाई भेटेँ
उसले शुसाशनका अंग-प्रत्यंगहरू
चिरफार गरेर रेसा-रेसा देखाइदियो
अब जनताले
सुलभ किसिमले सेवा पाउलान् भनि
ढुक्क भएर म आफ्नै सुतिखेतीमा लागेँ
तर ऊ भ्रष्ट भएको सप्रमाण रहस्य खुल्यो
शुसाशनको कुरा चोर-चंडालकै काफिया भएको देखेर
फेरि म शान्तिविहिन दरिद्र भएँ ।
हिमाल हाँसेकै छ, वतास आफ्नो यात्रामा घुमेकै छ
फुलहरू फुलेकै छन्, चराचुरुंगी र पुतली नाचेकै छन्
क्षण-क्षणमा लुटिएकोछ सिरिफ यौवन शान्तिको
जस्तो कि पार्टी कार्यालयहरूमा
दिउँसै नंग्याएर लुटिँदै छ जवानी लोकतन्त्रको
[ जसरी आर्थिक, शैक्षिक, भौतिक, राजनैतिक-सामाजिक पक्षहरू गरिबीका सूचकांक हुन्छन् त्यसैगरी अबदेखि मानिसको लागी ‘शान्ति’ पनि गरिबी नाप्ने सूचकांकको एक पक्ष हुनु पर्दछ जसको अभावमा ‘शान्ती-दरिद्रता’ हुन्छ । ]