Nawaraj Parajuli – Rajmarga Ka Khat Haru

राजमार्गका खतहरु

मेरो देश
साँचो अर्थमा
एउटा राजमार्ग,
एउटा सत्ता

एउटा बिध्वंस अगांल्छ ।

यो ‘मार्ग’,
किन ‘राजमार्ग’ भनियो,
मलाई थाहा छैन,
तपाईलाई थाहा छैन,
शायद
कसैलाई थाहा छैन;
नामाकरण सिद्धान्तका आधारहरु ।
रोडा टुक्रयाउने हर्कबहादुर,
अलकत्रा पगाल्ने रामलखन,
धुलो नुहाउने लछ्मनिया,
नक्सा कोर्ने पिटरसन
आदि–आदि
अनेक–अनेक नाम;
कुनै कोशे ढुंगामा छैन,
शिलालेखमा छैन,
सरकारि अभिलेखमा छैन ।
आखिर
दैनिक ज्यालादारहरु ।
राखिन्छ नाम ‘राजमार्ग’।
कस्तो राम्रो,
देशभक्तिपूर्ण अनि मिठो ।
होशियार!
हर्केको छोरो भर्खरको छ ठिटो ।

‘राजमार्ग’
मधेंसको छातिमा;
परेड खेल्छ,
चिरा पार्छ

सत्ता बोकिल्याउँछ ।

पूर्ब–पश्चिम,
उत्तर–दक्षिण,
बाहिर–भित्र,
तल–माथि,
जताबाट हेरे पनि,
जसरि हेरे पनि,
‘राजमार्ग’
कालो छ,
लमतन्न सुतेको छ,
खडेरिमा छ,
अर्थहिन छ,
उदासिन छ
र पनि क्रियाशील छ,
भारि बोक्न होईन, सत्ता बोक्न ।

राजधानि,
तराई,
पहाड
अनि
सेता–काला,
चुच्चे–थेप्चे,
होचा–अग्ला,
स्त्री–पुरुष,
साना–ठूला
सबै–सबै अधिकार, समानता र अंश माग्छन्,
राजमार्गसंग ।
राजमार्ग पोलिन्छ,
राजमार्ग टुक्रयाइन्छ,
राजमार्ग रोकिन्छ
र पनि
राजमार्ग शान्त छ,
निर्दोष छ ।

बर्षा लाग्छ,
पानी पर्छ,
अलकत्रा गन्हाउँछ राजमार्ग;
खडेरि लाग्छ,
सुख्खा हुन्छ,
पग्लन्छ राजमार्ग;
हिउँदसंगै,
हुस्सु लाग्छ,
झ्याप्पै हुसिन्छ राजमार्ग ।

राजमार्ग चोईटिएको छ,
टुक्रिएको छ,
लाखौं पाइला थिचिएको छ,
हजारौं पांग्रा गुडिएको छ ।
पोलेका दागहरु,
टुक्रयाइएका खण्डहरु
अनि
पुरिएका केहि खतहरु,
राजमार्गका खतहरु ।

देश
पट्टि लाउँछ,
खत मेटाउन,
खत छोप्न,
खत लुकाउन ।
पट्टिमा झन् स्पष्ट देखिन्छ खत ।
स्पष्ट पहिचानको छ खत;
लुक्दैन खत;
छाति फुकाएर बस्छ खत;
चिनिएको छ;
यात्रामा अबरोध गरिरहन्छ;
खड्यागं–खुडुगं,
गड्यागं–गुडुगं,
घ्याच्च–घुच्च ।
देश अभ्यस्त छ यो नियति,
यात्रु वाक्क छन् यो दुर्गति ।
कथा बोल्छ
पहाडको
तराईको
सम्पूर्ण देशको
खत राजमार्गको ।

धरान