जे बी शेर्पा – म ऐना हेर्दिन
भन्दा भन्दै
सुन्दा सुन्दै
हेर्दा हेर्दै ,
मैले आफैंलाई पनि बुढो सम्झन थालें,
अनुभव गर्न थालें !
मलाई याद छ
पहिलो पटक जब
जुंगा रेखी देखें ओँठमाथि
दोश्रो पटक जब
फुच्चेहरुले अंकल र दाइ भन्न थाले
तेश्रो पटक जब
कसैको सुन्दरतामा फसें
चौथो पटक जब
बेहुला बनेँ ,बिहे गर्न
पाँचौ पटक जब
नानीको पापा बनें
छैठौ पटक जब
पहिलो पटक , बाजे बनें !
यि प्रत्येक पटक मैले आफुलाई
बुढो सम्झेँ, अनुभव गरें
समय !
केवल मेरो भागको समय
मुट्ठीको बालुवा झै
सररररर !!! फुस्केर गई रहेछ
थाहा छ, समय बालुवा हैन
हिजो जस्तै लाग्छ
कसैले बोलाएको ….
ऐ फुच्चे ! ऐ नानी ! ऐ बाबु ! ऐ केटा !
आफैलाई ऐनामा नियाल्छु
केही परिवर्तनहरु देख्छु ,
कपाल , छालाको रंग र चमकमा,
आफैलाई ढाँट्न पनि सकिन्न
झनै अचेल त ,
काका, बाजे अनि ऐ बा ! जस्ता शब्दहरुले
जिस्क्याई जिस्क्याई बोलाए जस्तो लाग्छ
यि नाता र साइनोका मीठा शब्दहरु पनि
नियास्रो र झर्को लाग्छ
झ्याई किरीको झ्याईझ्याई जस्तै !
हिजो भर्खरै मात्र आयो ,
छोरीको चिट्ठी अनि साथमा थियो
हलुका नरम तर खैरो, फूस्रो एकजोर जुत्ता पनि
मायाँले लेख्छिन
प्यारो मेरो बाबा
……………………….!
……………………….!
अनि चिल्लो पिरो अमिलो कम खानु
छ्यांग रक्सी बियर छुदै नछुनु
चेकअप नियमित गर्नु
धेरै दु:ख नगर्नु
इत्यादि ….इत्यादि ….
बेला बखत
यस्तै कुराहरुले जिस्क्याउँछ, खिसी गर्छ
तँ त अब बुढो भईस भन्छ
फेरी नियास्रो लाग्छ
र फेरी ऐना हेर्छु
सोध्छु , मत साँच्चिक्कई बुढै पो भएछु की क्या हो ?
आफैलाई संतुष्ट पार्न
पुरानो यौंटा गीतको केही हरफ गुन्गुनाउँछु
……जोवन गयो वैंश त गएन लैलै …..
संजोग !!!
उता बैठक कोठामा रेडियोले फुकी रहेछ !
७६ वर्षीय मिन बहादुर शेरचनले सगरमाथा चढ्यो
एक छिन आफैलाई उनीसंग तुलना गर्छु ….
निकै वेर घोत्लिन्छु
र निर्णय गर्छु
अबदेखि म ऐना हेर्दीन !!!