चेतनाका अवयवहरूलाई
बन्दी बनाएर
कैदखानाभित्र
उन्मुक्त आकाशको कुरा गर्नु
मात्र समय लेख्ने यात्रामा
इतिहासलाई एकलब्य बनाएर
द्रोणाचार्य बन्नुजस्तै हो
न समय
अनुभूतिजन्य छ
निहत्था लासहरूमाथि
न आकाश छाम्दै
मौलिक र्स्पर्शलाई
अभिषेक गर्न सकिन्छ
विजयोत्सव मनाएर ।
हिंसाग्रस्त मनहरूको जुलुसमा
शान्तिको मधुशाला पिएर
संवाद खोज्दै
अघि बढ्नु
मात्र सत्य अनावरण गर्ने क्रममा
संवेदनामाथि घोडा चढ्दै
सत्तासीन बन्नुजस्तै हो
न सत्य
परिभाषित छ
बलात्कृत उमङ्गमाथि
न संवादलाई
प्रत्यारोपित गर्न सकिन्छ
फूलहरूको आत्महत्यामा ।