Dibya Giri – Ma Arthat Hami


अर्थात
हामी
यतिबेला तपाईं सामु
यौटा निवेदन सहित उपस्थित छौं
सरकार!

अर्थात
हामी
तपाईंजस्तै यो देशका नागरिक
तपाईंकोजस्तो यो हाम्रो पनि जन्मभूमि
तपाईंलाई जस्तै प्यारो छ
स्वाधिनता
स्वतन्त्रता
र, सार्वभौमिकता
अनि सबभन्दा ठूलो कुरा

अर्थात
हामी
सबैलाई ज्यान प्यारो छ
तर यतिबेला
तपाईं शासकभन्दा बढी शोसक बन्नु भयो
तपाईं रक्षकभन्दा बढी भक्षक हुनु भयो
नाहकमा

अर्थात
हामी
अपहरित छौं
कुटिएका छौं
मारिएका छौं
न न्याय छ
न त कानुन छ
जताततै दण्डहीनता छ
अराजकता
अव्यवस्था
र अन्यौल मात्र छ हाम्रो वरिपरि।
हूलतन्त्र छ जहीं पनि
भीडतन्त्र छ कहीं पनि
र मनपरितन्त्र छ
त्यसैले बिन्ति छ
सरकार!
हाम्रो रक्षा गरिदिनुस्
ह्ाम्रो सुरक्षा गरिदिनुस्
हाम्रो याचना सुनिसकेपछि
सरकारले भन्यो–
नागरिक!
तिमीले भनेका सबै कुरा सत्य हुन्
तिमीले मागेका सबै कुरा जायज हुन्
तर यति हुँदाहुँदै पनि
म आँखा भएर पनि अन्धो छु
म कान भएर पनि बहिरो छु
म होस भएर पनि बेहोसी छु
किनकि

शक्ति हु,
सत्ता हुँ
र सरकार हुँ
मेरो ध्यान मेरो सत्ता टिकाउनमै व्यस्त हुन्छ
मेरो ख्याल मेरो कुर्सी बचाउनमै व्यस्त हुन्छ
यस्ता सानातिना गुनासो सुन्ने मलाई फुर्सद कहाँ?
यस्ता सानातिना घटना हेर्ने मलाई चासो कहाँ?