जयराम तिमिल्सिना – अक्षरका अवाजहरु
अमिलो अनुभूतिको छाँयानेर
अक्षरहरु लिगलिगकोट दौड
स्वतन्त्रताको धीत मार्ने
विचलित अधमरा तनहरु
तातो खरानी ताप्दै
अनन्त प्रतीक्षाका फूलहरुमा
दुखेरै माटोभरी बाँचिरहेछन् ।
एक अक्षरका कविताहरु
शालीनताहीन अवशेष
उज्यालो ओसिएका आँगनिमा
एउटा ह्दयको विचार
अवैध छक्का हानिन्छन्
अचुक रुग्ण वर्तमानमा
सत्य निषेध परम्पराबाट ।
एउटा अनिश्चित भय
संवेदना हराएका कथाहरु
खाली मझेरीको आश्रम
कालो वादल छोचोलेर
अनिकाल भरिन्छ पाथीमा
वाणीहीन अस्पष्ट जलप
चुहिएर रितिएको सजीवता ।
सकिसकेको छैन जीवन
आवाजसंगै आकृतिसंगै
सानो संकल्प लिएर
आगो र पानीका कथाजस्तै
चिच्च्याईरहे जागा नै रहे
अक्षरका एकहुल अवाजसंगै ।