Sarubhakta – Mithak Utkhanan Ra Sambodhi Ma Harayeka Buddha Haru

समय–संक्रमण
युगीन क्रान्तिका अभिछिन्न भ्रान्तिहरु
दुखेको वेला
किराँतचुलीतिर सलामाण्डरहरु
शिकार खेल्दै हिडे
जीवन अल्झेको छ
दुम्सीकाँडैमा
म प्रेमपत्रको मुठो वोकेर
‘यो जाती भागी हिड्दैन’ भन्ने
मिथक उत्खननमा छु
हिरासतको राजनीति
अभियन्ताहरु अकुत सम्पतिलिप्सामा
सगरमाथाको चोरी गर्दैछन्
धु्रवीय ब्वाँसाहरु
मानसरोवर उच्चतामा
सफ्फोका प्रणयगीतहरु सुन्दैछन्
मन्दिरैमन्दिरको देश
समय–कुरुपेश्वर भगवानको अर्चना गर्छ
यसैले सर्च अभियानहरुमा
सधै योगमायाका उत्सर्गहरुले आत्महत्या गर्छन्
वम बोलेको देश ः वमहरुकै खेती हुन्छ
भष्मासुर युद्धयात्राहरुमा हामीसित प्रसस्त
भाडायुद्ध अनुभव खाँदिएका छन्
कृतिम निषेचन ः हामी आर्सेनिकयुक्त पानी पीडित छौं
यसर्थ मुद्रा बैंकमा यसपाली जेनोमका
जीनहरु जम्मा गरिराखेका छौ
नहाँस इथाकाराज्यका ओडियसहरु
यतिखेर हाम्रा सैनिकहरु
अरिङ्गालले चिलेर घाइते छन्
आउ, मानवढाल वनाऔं
हामीसित जंगलमा गैडाहरुको अकाल छ
जीवन–एक मृत्युचिन्तन
वुद्धहरु सम्वोधिमा हराएका छन्
आह ! हामी युगयुग किन
देवताका दोषहरु थामिवस्न अभिशप्त छौं ?