Prakash Sayami – Timilai Dekheko Samaya

तिमीलाई देखेको समय
मभित्र मौन उज्यालो खस्छ
अथाह वेग लिएर
तिमी समक्ष मेरो सामुदिक मनले
कविताको
भूगोल बनाउँछ
यत्र तत्र ।

चूपचाप तिमी कतै
चूपचाप म कतै
दुई अपरिचित जहाजजस्तै
हामी नाइल नदीको किनार भएर
वगिरह्यौँ
समय एक स्थिर स्वर भएर पर्खिरहेछ –
हामीलाई – चूपचाप ।
सिमानाको बाटो भएर बसेका
तिम्रा अचल नयनमा
असमान जुलुस देख्छु
आमन्त्रणको ।

म नतस्मतक
ऐना सम्मुख
सिँदूरको प्रतोलिका लिएर
उभिएकी विधवा झैँ
तिम्रा आँखाका गुफामुनि
आत्मसमर्पित छु
प्रिय !

हामी कविताका दुई पंक्ति झैँ
किनार किनार छौं
हामी कविताका दई मुद्रा झैँ
अधर अधर छौँ
तिमीलाई देखेको समय
मैले मेरो ईश्वर मरेको घोषणा गरेँ
तिमीलाई देखेको समय
मैले मेरो नयाँ ईश्वर जन्मेको घोषणा गरेँ ।