Shiva Prakash – Antarang Ko Rang

तिमीभित्र
तिमी जस्तै
तिमी नभए
मभित्र
म जस्तै
म पनि नहुन सक्छ !
तिमी,
तिमी जस्तै हुन
म,
म जस्तै हुन
तिमीभित्रको तिमी
मभित्रको म
सायद उस्तै हुनु पर्छ !
एकाकार भए पनि
तिमी र म
तिमीभित्रको तिमी
मभित्रको म
एकाकार नभएसम्म
मनले मन नचिन्न सक्छ,
शरीरले शरीर चिने पनि

मनले मन नचिने
एक मनले
अर्को मन कटक्क खान सक्छ !
तिमीभित्रको तिमी
मभित्रको म
तिमी र म भन्दा
फरक भए
अन्ततः
तिमी र म पनि
फरक बाटो
हिड्नु पर्ने हुन सक्छ !
के थाह,
मान्छे जस्तै
तिमीभित्र
अर्को तिमी
मभित्र
अर्को म पनि त हुन सक्छ !
रंग उस्तै भए’नि शरीरको
अन्तरङ्गको रङ्
फरक पनि त हुन सक्छ !

(अश्रृगांर कविता अभियान…)