नीरव गीत
मेरो अन्तिम गीतले सबै रागिनी पूर्ण हुन्छन् !
त्यो गीतको स्वरमा मेरो ह्दयको सम्पूर्ण आनन्द व्यक्त छ ।
जुन आनन्दले पृथ्वीका वक्षका हाँगाहरु सँगैसँगै गुञ्जिउठ्छन्,
जुन आनन्दद्वारा जीवन–मरण, दुइ सहोदर भाइ,
परस्परमा ओतप्रोत भएर संसारको रङ्गशालामा नृत्य गरिरहेछन्,
त्यही आनन्द, यमि रागिनीका स्वरमा व्यक्त हुन्छ !
जो, आनन्द बादल र आँधीका साथ रहन्छ,
अनि आलस्यमय उदास जीवनमा हास्य विद्युत् भरिदिन्छ,
जो आनन्द दुःखका रक्तिम कमल–पत्रमा आँसु झैँ चूपचाप बस्दछ,
अनि जो आनन्द आङ्खनो सर्वस्व धूलोमा मिलाएर
निःशब्द र निर्लेप रहन्छ,
त्यही आनन्द यी रागिनीका स्वरबाट व्यक्त हुन्छ !
अल्प भिक्षा
ईश्वर ! म तिमीसित यति मात्र भिक्षा माग्दछु :
तिमी ममा बस यति अहंभाव शेष होओस्,
म तिमीसँग पूर्णरुपले एकरुप हुन सकूँ !
ममा खालि यति स्वतंत्र चेतना आओस् अनि म तिमीलाई
चारैतिर पाउन सकूँ,
रात दिनका प्रत्येक क्षण प्रेम तिमीलाई अर्पण गर्न सकूँ !
तिमी ममा बस यति मात्र आवरण रहोस्,
मेरो ‘अहं’–ले तिमीलाई ढाक्न नसकोस्,
तिम्रो लीलाद्वारा नै मेरो सम्पूर्ण जीवन संचारित होस् ।
ईश्वर ! मलाई यति बन्धनमा बाँध,
म तिम्रो प्रेम–पाशमा बाँधिऊँ,
मेरो जीवनमा तिम्रो आवश्यकता सिद्ध भइरहुन् !
ईश्वर ! तिमीसित यति मात्र भिक्षा माग्दछु !