समय कलकल बगिरहेछ
सालिक चुपचाप उभिरहेछ
विभत्स मौनता…
सैद्धान्तिक अश्लीलता…
पाइलामुनि छ धूलो
‘जाबो’ धूलो ?
पाइला सार्ने वित्तिकै ?
तामेरलान को आत्मा झैँ
उठिहाल्छ धूलो !
उडेर बस्न सक्छ शिरमा
‘जाबो’ धूलो !
हलचल छ बन्द
धूलोमाथिको बबृर छैन बन्द
सिद्धान्तको रेबिज लागेको
दिमाग छ मन्द
‘जाबो’ धूलोलाई
“उठाउन दिन हुन्न”
एकै पाइला पनि सार्नै हुन्न
समय कलकल बगिरहेछ
आँधी-वतास चलिरहेछ
आउँछन् बटुवा र घाँस फ्याँक्छन्
आउँछन् अन्धा र फूल फ्याँक्छन्
सालिक पुरिएको धूलोमाथि –
पहेँलो घाँस…
ओइलाएका फूल…
निलो आकाश…