ख्वामित !
छत्तीस वर्ण यो फूलबारी उजाडिदैछ !
उजाडिदो यो फूलबारीलाई
फेरि सिँगार्नु छ, सुरम्य बनाउनु छ
शान्ति सिंचन गरेर रगतले साँधिएको
फूलबारीको माटो पखाल्नु छ
भावनाका बिरुवाहरु रोपेर
यहाँ विश्वासको फूल फूलाउनु छ
आदर्शका बारहरुले घेरेर
निष्ठाका कुटो कोदालीले
यो फूलबारी गोडमेल गर्नुछ ।
तर ख्वामित ! यहाँ त उल्टो भयो
भावनाका विरुवाहरु हैन,
यो फूलबारीमा एउटा भयानक
बूढो सिमल पो गाडियो !
रिसानी माफ होस्, ख्वामित !
हजूरबाट किन यस्तो उल्टो कदम चालियो –
ख्वामित ! म यो फूलबारीको मालिक हैन,
एउटा मामूली मालीमात्र हूँ
ख्वामित ! सानो मुख ठूलो कुरा नठानियोस्
त्यो बूढो सिमल सारेर र्सर्दैन, ख्वामित !
कहिल्यै र्सर्दैन ।
किन भने त्यो बूढो छ, जिरण छ
जतिसुकै शक्तिशाली
मल हाले पनि यो हुर्किँदैन
जतिसुकै कालो लेदो भरिएको
जल हाले पनि यो झाँगिदैन
ख्वामित ! यो बूढो सिमलमा
न त चुरो छ / न मूल जरो छ !
भोलीको हावाको झोक्कामा र्
गर्लम्म ढल्न सक्छ !
त्यतिबेला सायद यसले
भयानक दुष्परिणाम निम्त्याउछ
हजारौं बिरुवाहरु किच्न सक्छ
उजाडिदो यो फूलबारी
त्यसपछि झन् उजाड हुनेछ , ख्वामित !
हो, त्यस पछि झन् उजाड हुनेछ
र , यो बूढो सिमल
मात्र दुष्परिणामको प्रतीक हुनेछ ।
ख्वामित ! यो आदिम रुखले
परम प्रभुत्वका चाहना राखेको छ,
भयंकर रुग्ण स्वरुप भए पनि
असिमित विस्तारको उत्कण्ठा राखेको छ
तर ख्वामित !
कपोलकल्पित शून्यताको फल बोकेको
यो बूढो सिमलमा
म विकृत प्रतिविम्ब मात्र देखिरहेछु
यसमा न सद्भावको पालुवा पलाउँछ !
न भावनाको फूल फूल्छ !
न विश्वासको फल फल्छ !
न आदर्शका हाँगा फैलाउन सक्छ !
न यसले झरीमा ओत दिन्छ ,
न टन्टलापुर घाममा छाहरी !
न यो वर-पीपल जस्तो
श्रद्धा र आस्थाको कल्पबृक्ष हुन सक्छ
न त यसका पात बेलपत्र जस्तो शुद्ध छन्
न त भेडाबाख्राले नै खान्छन्
ख्वामित ! यो बूढो सिमल
न त हजूरको महलको खाँबो नै हुन्छ
न त अग्नि हवन्का लागि
यसको समिधा नै चल्छ !
न त यो कसैको चिता जलाउन नै काम लाग्छ !
ख्वामित ! हजूरको हुकुम नमानौ
मृत्युले मुख बाउँछ
मानौ, आत्माले धिक्कार्छ
हो, ख्वामित ! यो बूढो सिमललाई
मलजल गर्नु भन्दा उखेलेर फ्याक्नु नै वेश हुन्छ ।
ख्वामित ! गल्ति भए सहस्र क्षमा होस्
बूढो सिमल सारेर र्सर्दैन, ख्वामित !
सारेर र्सर्दैन !
हरैंचा/मोरङ , हालः बोष्टन, अमेरिका ।