Laxmi Prasad Devkota – Fool Ki Kopi Prati

क.

अनलशिखाझैं कलिली सुन्दर !
मधु–ज्वाला !
यो दृगपथमा पक्राउ बसे सरि,
भन तिमी को ? ए ! बाला !

ख.

मधुर रहस्यको मुसमुस ग्रन्थि,
रेशमी–तहले बाँधी,
वाणी तिरस्कारिणी ! बोल्छयौ
सुगन्धका के शव्द–कणीहरु
सम्मोहनले साधी ?

ग.

आत्मप्रकाशमा नै के भन
तिम्रो ब्रीडा–लाली ?
संसारी यो स्तरमा उत्रन
शरमिन्छयौ कि ?
सुकुमारी !
किनकि छ तिम्रा भावहरुको
अतिशय मृदुल, अलौकिक, मसिनो,
जाली ?

घ.

तैपनि मलयानिलका लहरले
फेर उछाल्दा तिम्रा,
ओर्लन, बोलन, पर्शनको मन !
इङ्गित छर्दछ राम्रा !

ङ.

जीवन–कणी सब झलमल बत्ती
बली, कसैसंग जाति,
मदिर क्षणमा, शादी स्वपनी,
उत्सव–चुली कल्पी, मुस्क्यौ ?
बैंस–सदनमा, काँच रङ्गको बहुभाँति ?

च.

अथवा प्रियतम तिम्रो कोही,
मीठो आँखमिचौनीले
मेरो मुटुको गहिरो दरीमा
आई लुकेको छ कि अहिले ?

छ.

लाई मधुरतम क्षणभङ्गुर यो
अमरताको सारी,
एक झलकमा, विश्व बुझाउन,
झर्यौ जगत्को वारि ?

ज.

अपरिचिता ए ! परिचय कुन यो
आदिकालको, दिन्छयौ ?
मुरलीकणीमा वृन्दावनमा
सदन लिएझै लाग्दछ कहिल्यै,
मिरमिर युगमा,
तिमी निकट जब हुन्छयौ ?