उमेश राई’अकिञ्चन’ –म बाँचे भने भगवान मर्छ
एक हरफ शब्दले
संसार जित्न खोज्ने
ए कवि !
कोर एउटा
नानी रोएको आवाजजस्तो कविता
छापामारको कैमोफ्लेज लुगाजस्तो
टाटे पाङग्रे
विश्वको नक्सामा
ए भिक्षु !
विपरित बहिरहेछ हावा
उल्टो फरफराइरहेछ झण्डा
फर्काउ
पानको पात पाइला नाघेर
सिमाना काटिरहेका
घामलाई
कि त रोएर
कि त हाँसेर सकिने
जिन्दगीलाई
यसरी जोड
ए दार्शनिक !
पुथ्वी घुमे जस्तो
फेरि फेिर
नदोहोरियोस्
कलिलो फूलको गुनासो
‘म मरे भने भगवान बाँच्छ
म बाँचे भने भगवान मर्छ’ ।