क.
छीः छीः दूरदूर गरिएको हुँ !
सबले आँखा तरिएको हुँ !
आदिम मनुको बदमाशीले
तर पृथिवीमा बरिएको हुँ !
दिव्य शल्यको दैनिक साधनमा
स्रष्टाले दरिएको हुँ !
ख.
बेकार सराप्छौ तिमी मलाई
सुन रे मेरा शठ भाइ !
मुनिको मनको काँढा मै हुँ,
खोल्ने दोस्रो लोचनलाई !
फूल–अन्धा छन् दुनियाँ सारा
तिनले घृणा खूब गरिएको हुँ !
वीर, शहीदहरुको पथ तर,
निर्माण हवस् भनी, विरिञ्चिकरले
जीवन वनमा छरिएको हुँ !
ग.
तिमी भुलौला जब, जब मृत्यु
सत् भारा ।
तिमी हिंडौला उत्ताउलो बनी
गल्ली गन्दा अँध्यारा ।
झल्याँस्स जगाउन च्वास्स म ठुँग्दछु,
मानव प्यारा ।
फूलका कविता लेख्छन्, लेखून्,
काँढाको अझ काम छ तीखो,
अझ ठूलो अभिभारा !
गूढ तत्वले भरिएको हुँ !
घ.
स्वर्गमा छ क्या मधुशाला !
बाटुला छन् सुनका प्याला !
फूल सुगन्धी खूब उज्याला ।
एक अभावले तर त्यो झुक्छ,
झुक्छ तल !
कण्टक–विजय त्यहाँ छैनन् !
उत्पीडनको छैन परामर्श !
तडपनबीचको आत्मबल !
स्वर्ग जित्न नै छरिएको हुँ !
ङ.
तारा झकीकन, सश्रद्ध भूतिर
शवनम भेटी चढाई निशिभर,
आदृत टुप्पो भरिएको हुँ
नरले, सुरको सुन्दर पराजय
गर्न भनीकन बरिएको हुँ !
भूलशूलको तत्वले पृथिवी,
स्वर्गभन्दा रुचिर, विचित्र
पार्न कल्पना गरिएको हुँ !
छिः छिः दूरदूर गरिएको हुँ !
सबले आँखा तरिएको हुँ !