गीता त्रिपाठी – विना वजनका मान्छेहरु
बादलको देशमा
बादलकै मान्छेहरु
टेक्छन् बतासे खुट्टाहरु र
सरिरहन्छन् कहिले यता
कहिले उता
तिनका हलुका वजनहरु
तानिँदैनन् पृथ्वीको गुरुत्वाकर्षणतिर
मातृशक्तितिर
ती छुट्दै जान्छन्
उठ्दै जान्छन्
भ्रमको अस्थिर आयामहरुमा र
फेरिरहन्छन् बादले-आकृतिहरु
कहिले काला हुन्छन्
घनघोर काला
कहिले सेता
रुवा झैँ हलुका
धेरैजसो ती गहुँगोरा हुन्छन्
बीचका,
न यताका न उताका
घामलाई छेकिदिन्छन् ती
पानीलाई रोकिदिन्छन्
तन्किरहने र खुम्चिरहने आकार बोकेर
एकान्तमा कानेखुसी गर्छन्
बतासे ऋतु झैँ सरिरहन्छन्
कहिले यता कहिले उता
विना वजनका मान्छेहरु ॥