शय्याको भर्खर रिक्त भएको स्थानबाट
उठिरहेछ तातो बाफ
ठ्वाक….ठ्वाक….ठ्वाक
ठक…ठक…ठक्क
तल भ¥याङमा सुनिन्छ
टाढा गइरहेको
क्रमशः क्षीण भइरहेको
कसैको परिचित
तर असन्तुलित पदचाप
एकछिनको निम्ति वातावरण बेहोस हुन्छ
पुनः सुनिन्छ कोर्राको फटकार
बग्गीको खड–खड, घोडाको चित्कार
बाटोको ढुङ्गा र माटोको सम्मिलित हाहाकार
म भने शय्यामा पल्टिरहेर
निस्पन्द, निश्चल, शिथिल, चूपचाप
सोचिरहेछु मैले
के गरे —प्रणय कि पाप !
पुनः सोच्छु —यो म के सोचिरहेछु
के यो मेरो सोचाई मात्र ? जिज्ञासा मात्र ?
कि मेरो अन्तस्ले मसित लुकाएको पश्चाताप ?