(अथवा यस अर्थसङ्कट–युगको ध्वनि)
क.
प्रभु गैँडा ! प्रभु गैँडा !
देऊ घिउ, चिनी, मैदा !
तातो हलुवा गर पैदा !
कर्कलोले पेट दुख्यो अति !
खल्लो भयो अब कैँडा !
अभावदेखिन् विरक्त भएका भक्तहरुको आवाज सुन !
दुःख सागरमा सुख–वन्दरगाह
खोजी चल्दा हामीहरुको
पार लगाऊ बेडा !
ख.
सङ्कट–युग छ ! सताइरहेछन्
दरिद्रताका छौँडा !
फलाम आज हाम्रो चिउरा !
धनी न दिन्छन् कौडा !
प्रियतमा छन् हाम्री पहेँली !
बच्चाबच्ची नलिखुट्टी !
अस्तित्वको छ सामु पहेली !
फिरफिर निभ्दो बत्ती !
बजारमा छन् सुरसा भाउ
साहू !
मरी–मरीकन जिइरहेछौं
हाहू !
मुर्दा जीवनलाई बेरी रङ्गी कात्रो,
भद्रपुरुषका नाम मलामी,
आफ्ना आत्माहरुका हामी,
मरमिट घाटतिर बनिरहेछौं,
जात्रु ! जात्रु !
गर्ने क्या हो ?
छेपारोको उखान भएको आत्मविकास
कानेखुशी आउँछ गर्न,
‘आत्मविश्वास !’
लथालिङ्ग छन् हाम्रा घरजम !
कीटाणु मित्यारी लाइरहेछन् !
ओहो ! सामाजिक यत्रो भास !
किन ? किन ? सोध्छौँ हामी युगुसँग !
लागी औडा,
तिमी दयालु छैनौ प्रभुजी !
हे गैँडा !
ग.
सम्शेरहरुले मार्थे तिमीकन !
आयो सचिवको पालो !
क्रान्ति यत्ति भो ! आलु–सिमीकन
छैन बदनमा टोलो !
घरमा छैन दियालो !
धम्र्म गर्छौं अब परिवर्तन !
सङ्ग्राम तीतो र तीखो छ !
प्रभु गैंडाको पूजा गर्छौं !
धम्र्म यही नै दिगो छ !
घ.
सपना, बिपना तिमी नै हाम्रा !
बन्न देऊ दिल सब चाम्रा !
हाम्रा युगका छाप हे राम्रा !
प्रभु गैंडा !
आत्मा दिन्छौं, जीवन दिन्छौं,
दिन्छौं साथी भाइ !
बाबु, आत्मा, पत्नी, प्रियतम,
सब तिमीलाई !
हटाऊ दुःखका छौँडा !
राजधानी तिम्रा सारा
तिम्रा गौँडा !
अन्नदाता ! कलिका त्राता !
भूस्वर्गका ए पिता औ माता !
प्रभु गैंडा !
ङ.
बीसौं शताब्दीका यस ढलकका
यस युगका हुँ नेपाली !
धम्र्म नयाँका अवलम्ब िहुँ !
भोका मुख हुँ जन्जाली !
प्रभु गैँडा ! प्रभु गैँडा !
जाँदैनौ नि स्वर्ग ! बिरायौँ !
पृथ्वी बस्छौ ! भूकैँडा !
पण्डितहरुले छकाइदिएछन्,
बनाइदिएछन् राम–भेडा !
झूठा पाठ गरेछौँ ! बिरायौँ !
क्षमा–त्राता !
मोलतोल अब उल्टा लिनेछौँ !
माम–दाता !
पाता कस अब अध्यात्म असुर सब !
भर खाता !
सकल प्रजाका प्रतीक प्रभुका दिव्य मूर्तिले अङ्कित तिम्रो
टप पात !
जन–वनका ए राजा अशङ्कित !
अनेक मुद्राहरुले झङ्कृत !
प्रसन्न बन हे विधाता !
च.
विराट् छ आज ‘सहस्र–सङ्ख्या पुरुषः !’
सर्वतः स्पृत्वा दशाङ्गुलीले
समाजमा छ सङ्घर्ष !
सञ्चालक हे सकल नशाका !
सकल दिशाका ! सकल दशाका !
जगतःआत्मा !
दालमा, भातमा !
दिनमा, रातमा !
सारा बातमा !
सेफमा, साथमा, मुखमा, हातमा,
सब जातमा !
बाहुन तिम्रा मुख झैं बोल्छन् !
क्षत्रिय तिम्रा कर झैं लड्छन् !
वैश्य, बेपारी उरु झैं चल्छन् !
शूद्र पयरमा सुक्दै झुल्छन् !
लक्ष्मी–नारायण हे गैंडा !
जन–जङ्गलमा अवतारी भै
कलिमा पैदा !
देऊ घिउ ! देऊ चाँवल ! देऊ मैदा !
विभूति तिम्रो निमुखालाई भयदा ! भयदा !
चतुरालाई जयदा ! हयदा !
प्रभु गैँडा !
छ.
तिम्रो जन्म सवाई–घाँस !
अवतारहरुको जुन हो वास !
बुद्ध जन्मिए वनका तृणमा,
ईशमशीहा अरु कुनामा ?
ईश्वर पुराना हामी मास्छौं !
ऋषि, मुनि, शास्त्र, साधु छास्छौँ !
पोल्छौँ वेद र गैँडा उपास्छौँ !
भासको आत्मा बलले उकास्छौँ !
शक्ति वृषभ हे ! डुक्रन पास !
हात उठायौँ ! अवतर सुन्दर !
दूर हटाऊ भूतका छौँडा !
गैँडा ! गैँडा ! प्रभु गैँडा !
ज.
सुट्ट आउँछौ कोही घरमा,
मारी चाल !
थुप्रिरहेछौ कहीँ निडरमा
मालामाल !
दर्शन काहीँ दिँदै, दिँदैनौ,
घटघट हाल !
हामी खिचडीवादी प्रभुजी, बन्छौ आज !
जन बेहाल !
अपार छ तिम्रो, बुझी नसक्नु,
टेढो चाल !
जिउनु हो धम्र्म, मर्नु हो पाप !
सिद्धान्त फे¥यौँ, ए आऊ !
अध्यात्मवादी भनीकन फेरि,
हामीलाई नसताऊ !
झ.
तिमी नै चल्दा पाङ्ग्रा, ढयाङ्ग्रा !
बङ्गारा औ पन्जा, नङ्ग्रा !
तिम्रा ह्वाङ्ग्रा, तिम्रा पाङ्ग्रा !
गुलेली, मट्याङ्ग्रा !
भेडा, च्याङ्ग्रा !
तिमी बिनु सब ग्वाङ्ग्रा, गोज्याङ्ग्रा !
बर्फी तिमी नै, अर्बी तिमी नै !
ओज तिमी नै, भोज तिमी नै, मोज तिमी नै,
पोज तिमी नै !
रोज तिमी नै प्याला–छाल !
दरबार तिमी नै, तरबार तिमी नै,
मोटर माल !
क्रान्ति तिमी नै,
कम्प्रोमाइज तिमी नै !
ऊँचा पद औ ठाडा नाक !
बिर्तावाल
बुर्जेवाल !
अत्तर कमाल ! रेशम जाल !
नाइलन सारी घूँघरबाल !
तिमी नै चमचम ! काजूगेडा !
भगवन् गैँडा ! भगवन् गैंडा !
ञ.
जय युग–ईश्वर ! जय घटवासी !
जय जय डोरी तान्न प्रयासी !
शक्ति छ प्रभुको वर्णनपार !
गैँडा ! तिमीकन मारे, तर्पे
आत्म, पितृका तृप्त हजार !
ट.
हाम्रो धम्र्म छ जङ्गल बीचमा
एउटा उठेको माग्दो हात !
आकाश तरफ नित उठिरहेको !
‘आऊ भगवन् ! गैंडा ! खात !
देऊ दाल र देऊ भात !’
ठ.
हामी पुस्तौँ पुस्तौँ ठगिँदा,
हामी भोका नेपाली !
हाम्रा भाव, विचारहरुका,
प्रधना तिमी नै अधिनायक होऊ,
सञ्चाली !
आत्मरक्षण प्रथम नियम हो !
देऊ अरु सब नीति फाली !
रेशमकीरा अँडिर नपाए,
बुन्छ कहाँ रे साहित्य, कलाका
मसिना–जाली ?
चोर साधु हो, अदालत पापी,
परम्परा छ उल्टो खालि !
हाम्रो आत्मा विकाश छ गर्नु !
भर थाली !
चल्छौँ महाजनहरुको बाटो !
चाहन्छौँ हुन मोटो घाटो,
गैँडा–दार !
आत्मा मर्दछ, माटो नमर्दछ !
बल्ल बुझेका छौँ यो सार !
अमरता नै हाम्रो टुटेको,
आत्मा हाम्रो दूर छुटेको,
जायज छन् सब चोरी, डकैती !
रिश्वत, बायाँ हात सबै ती !
जिउनु छ हामीलाई बोल्न !
हिंसा धम्र्म छ कुइरो खोल्न !
बेईमानी, वेदमा ऋण छ !
मिथ्या ठीक छ !
जिन्दगी नै हो धम्र्म महान् !
आत्माभन्दा ठूलो प्राण !
गैँडाको एक मन्दिर बनाए
छैन उजूर !
दैवी सम्पत् बलि ली जान्छौँ सब नेपाली,
हेर्दै गजूर !
छोरा, नाति, पनाति, खनाति,
जनाति चलून् रे ताँती ! ताँती !
अटूट लहर भै भाँति, भाँति !
जाति–सातत्य धम्र्म हो जाति !
अविरल धार !
प्रकृत मानवचेत यही हो !
प्रभु गैँडा !
गरिरहेछौ अरु संहार !