Bhupi Sherchan – Titara Battai Ra Bhakku Ka Rango Ko Santanharu Prati

जर्मनका धावैमा होस्
वा बर्माको घेरामा
मलायाका रबडका वनमा होस्
या नेफा र लद्दाखका पराई लडाइँमा
ती जो मरे
विना कुनै स्वार्थ
विना कुनै अर्थ
व्यर्थ
तीतरा, बट्टाई र भक्कूको राँगोजस्तै
अरुको हा…हा….हामा लागेर
अरुको थपडी र नाराले जागेर
अरुको ख्वाएको जाँड र कटले मात्तिएर
‘आयो गोर्खाली’ भन्दै
(गोरु खाली बन्दै ! )
युद्धमा हाम्फालेर
ती मरेका लोग्नेहरुको पेन्सनले
आफ्नो छोराको पास्नी गर्ने ए अभागिनी स्वास्नीहरु !
ती मरेका छोराहरुको आर्जनले आफ्नै चौरासी पूजा गर्ने
ए बूढा–बूढीहरु !
ती बितेका साथीहरुको जर्सी लगाएर
रोदीमा सोल्टी फकाउने ए तन्नेरी मान्छेहरु हो !
ती मरेका प्रेमीहरुको कोसेली चुरा लाएर
डोलीमा बस्ने ए ब्याहुली जेठी–कान्छीहरु हो !
खूपै सुहाएको छ तिम्रो छातीमा
तक्मा ‘परम वीरचक्र’ र ‘भिक्टोरिया क्रस’ को
तर के आउँदैन यसबाट कहिलेकाहीं
ओस्सिएको गन्ध तिम्रा आफन्तहरुको लासको !