Shekhar Dhungel – Bhanchhin Meri Uni

नपछ्याऊ अब मलाई
मेरो बाटो अझै कठिन हुँदैछ
हिंड्नु छ मलाई
काँडाघारीको गोरेटो
तिम्रो सुकिलो लिवास
उध्रिन सक्छ
चिल्लो फराकिलो बाटो
रोज्नेहरू
दोष मलाई आउन सक्छ
फर्की जाऊ सुखको संसार
मलाई त अँझै पत्थरिला
बाटोमा हिंड्नु छ
साथ लागे त तिम्रो
कोमल पाउमा घाऊ लाग्न सक्छ
टाढै बस रमाऊ जहाँ छौ
मेरो बस्तीमा त
प्रदुषणले बिमार पार्न सक्छ
बेच तिम्रो ज्ञानको भण्डार
उतै तिर
यता त बित्रिष्णा आउन सक्छ
म त जीर्ण भैसके अब मैले
तिम्रो सन्तानको
भविष्य कोर्न सक्दिन
टाढै राख तिनलाई
गरीबीले कुन्ठा बढ्न सक्छ
ओत लाग्ने आशा मारिदेऊ
यो खरको छानो
जुनै बेला ढल्न सक्छ
कामको के भरोसा ममा
दौरा र टोपीको
काम समेत बन्द हुँदैछन्
सभ्य समाजमा रमाऊ तिमी
मेरो आगनमा त
बिकृतिको पहाड खडा छ
तिम्रा कोही दौंतरी छैनन् यहाँ
घर घरमा थरी थरीका डन्डा छन्
नपठाऊ मलाई अरबबाट
पसिना ले भिजेको चिट्ठी
रोएर म सिथिल भै सके
बाँकी छैन अब यहाँ
तिम्रो पुर्खा को अस्मिता
च्यातिएर धुजा धुजा भैसक्यो
नझार परदेशबाट
औपचारिकताका आँसु
म त तिम्रो लागि अर्घेली भैसकें
तिम्रो छातीमा कुँदिएको
मेरो नाम खुइलिसकेछ
नदोहोर्याउ कथा राम र बुद्धको
लिट्टे र तलिवानले तिन्को
हरण गरिसकेका छन्
न झकझक्याई राख तिमीहरू
टाढाबाट
यो अस्थिपन्जर
ढल्नै आँटिसकेको छ
नआऊ फर्की घुर्की देखाउन
यही कहिले छाती थिलथिलो
पारिसकेका छन्
शुभकामना परदेशिएकालाई
उही चाउरी परेकी नेपाल आमा