मुहान थुनिए पनि पानीको
नालापानीमा बाँकी थियो
प्यास मेटाउने एउटा सपना
सुगौलीमा थिचिँदा पनि छातिहरू
बाँकी थियो
टिष्टा र काँगडा जोड्ने एउटा सपना
कोतको त्राशद नरसंहारले पनि
हत्या गर्न सकेन सपनाहरूको
झुण्ड्याइँदा पनि वीर शहिदहरूलाई
फाँसी लागेन सपनाहरूको
इतिहास नपढेकाहरूले सपनाहरूलाई
अराजकताको आरोप लगाउँछन्
नियम र विधान माथि विद्रोहको आरोप लगाउँछन्
असम्भव र उडन्ते भनेर गिल्ला गर्छन्
तर,
सपनाहरूको संयमता
दिशाहीन क्रुर बुख्याँचाहरु भन्दा
वा संयमित भनिएका मान्छेहरूभन्दा
धेरै धेरै उच्च हुन्छ
सपनाहरुले कहिल्यै पर्खदैनन् समयलाई
समयले बाँधेको सपनाहरुलाई त
फुकाई दिएको थियो रे उहिल्यै स्पार्टार्कसले
त्यसपछि पनि निकैपल्ट समयको भ्रम दिएर
चल्न छाडेको थोत्रा एनालग घडीहरुले
सपनाहरुलाई बन्दी बनाउने घोषणा गरे
लासको थुप्रो लगाउँदा पनि राजमार्गमा
सपनाहरुको यात्रा कहिल्यै
अबरुद्ध भएको मलाई थाहा छैन
स्वाधिन वस्तीका सपनाहरु
चरा जस्तै स्वतन्त्र हुन्छन
अनि उन्मुक्त कावा खान्छन
मान्छेका सुदुर सपनाका आँखाहरुमा
शीरिषका फूलका सपनाहरु
बिहानी हावा जस्तै सुमधुर हुन्छन
सहर्षस्वीकार्दै आफ्नै सहादत
सुम्सुम्याउँदै ब्यूझाउँछन
न्रि्रामा मस्त मान्छेहरुलाई
जैतुनका पातका सपनाहरु
बुद्धको समाधि जस्तै हुन्छन
मुक्तिको मार्ग निर्देश गरिरहन्छन
बाटो बिराएका निराश मान्छेहरुलाई
बैशाखी मुनाकेा सपनाहरू
परदेशीएको प्रितको वियोगान्त गीतहरु जस्ता हुन्छन
भिजाएरै परेलीहरु मान्छेहरुको
आस्थाका दृढ प्रतिक्षाहरु दिन्छन
ढुंगाहरुले कहिल्यै सपनाको दृष्य देख्दैनन्
खरानीहरुले कहिल्यै सपनाको आवाज सुन्दैनन्
सपनाको आवाज कहिल्यै खरानी पनि हुदैंनन्
सपनाहरु नदेख्नेको कुनै विश्वसनीय इतिहास पनि हुदैंनन्
सपना नसाच्नेहरुको कुनै मौलिक देश पनि हुदैन
बस्तिका करोडौं सपनाहरुले
सपनाहीन ढुंगा र खरानीहरुलाई
अबैध घोषणा गरिरहेकै बेला
आऊ तिमी पनि हामीसँगै
सपनाहरुको यस महायज्ञमा
आफ्ना सुन्दर सपनाहरु
यही प्यारो माटोमा समर्पण गरौं
सपनाहरुको गौरवशाली
इतिहासलाई समर्पण गरौं ।